बगर भाइखलक फुटबलमा क्वाटरफाइनल समिकरण पूरा

जारी प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलका ४ खेल र सेमिफाइनलका २ खेल गरी ६ खेल हुनेछ

जनसम्मत
माघ १०, २०७६, शुक्रबार

पोखरा । पोखरामा जारी तेश्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक भेट्रान एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बिहीबार प्रि–क्वाटरफाइनलका खेलहरु सकिएको छ ।

बगर भाइखलकले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न पहिलो खेलमा आयोजक सेतोले हेटौडा भेट्रान निलोलाई ४–२ ले पाखा लगायो । आयोजकको जितका लागि गंगा तामाङले २, मनोज गुरुङ र किरण श्रेष्ठले समान १/१ गोल गरे । हेटौडाको तर्फबाट भरत तितुङ र नवराज बज्राचार्यले १/१ गोल गरे ।

त्यस्तै, दोश्रो खेलमा भनिमण्डल ललितपुरले अभिषेक चर्च नवलपुरलाई २–० गोल ले पराजित गरेको छ । जितका लागि भनिमण्डलका तर्फबाट पाण्डव खाती र सुजित केसीले समान १/१ गोल गरे ।

यसैगरि, बिहीबार भएको तेश्रो खेलमा एक्स–पोखरा भेट्रानले लेकसाइड भेट्रानलाई ४–० फराकिलो गोल अन्तरले पराजित गरेको छ । कुमार शेरचनले २ गोल गरे । एक्स–पोखराका लागि किसन गौचन र सुरज मल्लले समान १/१ गोल गरे ।

त्यस्तै अर्को खेलमा नाइट किङ सानो गौचरनले हेटौडा भेट्रान रातोलाई ३–२ गोलले पराजित ग¥यो । नाइट किङका लागि राकेश श्रेष्ठले २ र जगत लामाले १ गोल गरे । हेटौडा रातोबाट बलबहादुर गुरुङ र विजयलाल श्रेष्ठले १/१ गोल फर्काए ।

बिहीबारको अन्तिम खेलमा मिया सान मियाले जोरपाटी भेट्रानलाई ३–२ ले पाखा लगायो । जितका लागि नविन पाण्डेले २ गोल र कल्याण खड्गीले १ गोल गरे । जोरपाटीको तर्फबाट उमेश लामाले २ गोल गरे ।

बिहीबार इङ्ल्याण्डका फुटबल प्रशिक्षकतर्फबाट नेशनल लिग सिस्टमका प्रमुख लाउरेन्स् जोन्स्लाई आयोजकले स्वागत समेत गरेको छ । स्वागतपछि बोल्दै जोन्सले पोखरामा फुटबलको क्रेज देखेर खुशी भएको कुरा व्यक्त गरे । उनले आपसी सम्वन्धलाई सुमधुर बनाउन आफू लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

पोखरा–१, बगरस्थित टुंडिखेल मैदानमा जारी प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलका ४ खेल र सेमिफाइनलका २ खेल गरी ६ खेल हुने प्रतियोगिताका प्राविधिक संयोजक खगेन्द्र गुरुङले जानकारी दिए ।

शुक्रबार क्वाटरफाइनल अन्तरगतको पहिलो खेल भनिमण्डल र एक्स–पोखराबीच हुनेछ । अमरसिंह ब्वाइज क्लब (एबीसी) पोखरा र आयोजक सेतोबीच दोस्रो खेल हुनेछ । टि–वर्गर ललितपुर र चितवन भेट्रानस्बीच तेस्रो खेल हुनेछ । चौथो खेल नाइट किङ सानो गौचरन र मिया सान मियाबीच हुनेछ । उक्त क्वाटरफाइनल खेलका विजेताबीचको सेमिफाइनलको खेल पनि शुक्रबार नै हुने आयोजकले जनाएको छ ।