थ्री स्टार ए डिभिजन लिगको तेस्रो स्थानमा

मच्छिन्द्र फुटबल क्लब शीर्ष स्थान नजिक, विभागीय सशस्त्र प्रहरी बलको एपीएफजावलाखेल युथ क्लबसँग स्तब्ध

जनसम्मत
माघ १०, २०७६, शुक्रबार

काठमाण्डौं । थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा बिहीबार भएको पहिलो खेलमा थ्री स्टारले शेर्पामाथि ३–१ को जित निकाल्यो ।

खेलको छैटौं मिनेटमा लालरम्वाको पासमा अनमार्क रहेका सुशील राईले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । पहिलो हाफको इञ्जुरी समयमा स्टेफेनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । लगत्तै इन्ज्युरी समयमा नै सन्जोक राईले गोल गर्दै थ्री स्टारलाई पहिलो हाफमै २–१ को अग्रता दिलाए । खेलको ५१ औं मिनेटमा हम्जातले गोल गर्दै थ्री स्टारलाई खेलमा ३–१ को अग्रता दिलाए ।

यस जितसँगै थ्री स्टार अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लिगको ८ खेलबाट ४ जित, २ बराबर र २ हार बेहोरेको थ्री स्टारको १४ अंक छ । शीर्षस्थानमा रहेको आर्मी र मच्छिन्द्रभन्दा टोली २ अंकले पछाडी छ । यता शेर्पा भने ८ खेलबाट १ जित, ४ बराबरी र ३ हारसहित ७ अंक जोड्दै लिगको ११ औं स्थानमा छ ।

जावलाखेलसँग एपीएफ स्तब्ध

विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लब सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबसँग स्तब्ध बनेको छ ।

लिग अन्तर्गत बिहीबार भएको खेलमा जावलाखेल युथ क्लबले एपीएफलाई १–० ले पराजित गरेको हो । खेलको अन्तिम ३० मिनेट १० खेलाडीमा सीमित बनेको जावलाखेलले अग्रता लिँदै जित हासिल गरेको हो ।

जावलाखेलको जितमा विदेशी फरवार्ड फोडे फोफानाले एकमात्र गोल गरे । उनले ७१ औं मिनेटमा वन टचमा गरेको गोल निर्णायक बन्यो ।

त्यसअघि खेलको ५७ औं मिनेटमा गोलरक्षक टिकेन्द्र थापाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि जावलाखेल १० खेलाडीमा सीमित बनेको थियो । पेनाल्टी क्षेत्र बाहिर आएर हातले बल समाएपछि रेफ्रीले गोलरक्षक टिकेन्द्रलाई सिधै रातो कार्ड देखाए ।

पछिल्ला दुई खेलमा पराजय भोगेको जावलाखेल यस जितसँगै अंक तालिकामा उकालो लागेको छ । जावलाखेलले ८ खेलबाट ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंक जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । एपीएफ भने ८ खेलबाट १ जित, २ बराबरी र ५ हारसँगै ५ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा छ ।

मच्छिन्द्र शीर्ष स्थान नजिक

त्यस्तै, लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित ग¥यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले पुलिसलाई १–० गोल अन्तरले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रञ्जितले गोल गरेका थिए । खेलको ५४ औं मिनेटमा रञ्जितले फ्री–किकबाट गोल गरे ।

पुलिसमाथिको जितसँगै मच्छिन्द्रले लिगमा पाँचौं जित हात पारेको हो । मच्छिन्द्रले ८ खेलबाट १६ अंक जोडेको छ । शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग मच्छिन्द्रले अंक बराबरी गरेको छ ।

लिग अन्तर्गत शुक्रबार मनाङ मर्स्याङ्दी क्लब र सरस्वती युवा क्लब खेल्नेछन् । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र च्यासल युवा क्लब भिड्नेछन् ।