म्याग्दी, कास्की र स्याङ्जा प्रदेशस्तरीय मुख्यमन्त्री कपमा विजयी

समूह ‘बी’ मा रहेको म्याग्दी जिल्ला फुटबल संघले गैडाकोट खेलकुद विकास समितिलाई ३–१, दोस्रो खेलमा घरेलु कास्कीको आदर्श युवा क्लबले डाँफे युवा क्लब मनाङलाई ७–२ र समूह ‘बी’ को होराइजन युथ क्लब स्याङ्जाले बागलुङ जिल्ला फुटबल क्लबलाई ४–० जित निकालेका छन्

जनसम्मत
माघ १०, २०७६, शुक्रबार

पोखरा । म्याग्दी जिल्ला फुटबल संघ, कास्कीको आदर्श युवा क्लब र स्याङ्जाको होराइजन युथ क्लबले पोखरामा जारी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबलमा जित निकालेका छन् ।

जितसँगै उनीहरुले टोलीको खातामा स्पष्ट ३ अंंक जोडेका छन् । पोखराको लेखनाथस्थित भण्डारढिकको आदर्श खेल मैदानमा बिहीबार भएको प्रतियोगितामा समूह ‘बी’ मा रहेको म्याग्दी जिल्ला फुटबल संघले गैडाकोट खेलकुद विकास समितिलाई ३–१ गोलको जित निकाल्दै स्पष्ट ३ अंकको खाता खोलेको छ । लिग अन्तर्गत म्याग्दीले पहिलो खेल खेलकेको हो ।

म्याग्दीको जितमा सन्तोष पुन, सागर गर्बुजा र बिनम थजाली नायक बने । उक्त खेलमा सुरुवाती अग्रता भने नवलपुरले लिएको थियो । नवलपुरका रामबहादुर थापाले ४४ औं मिनेटमा गोल गर्दै नवलपुरलार्ई सुरुवाती अग्रता दिलाएका थिए ।

म्याग्दीको तर्फबाट सन्तोष पुनले ४६ औं मिनेटमा बराबरी गरे । सागर गर्बुजाले खेलको ६७ र बिनम थजालीले ७२ औं मिनेटमा गोल थप्दै टोलीलाई निर्णायक जित दिलाए ।

लिग अन्तर्गत दुई खेल खेलेको नवलपुरको ३ अंक छ । उसले गत बुधबार होराइजन युथ क्लब स्याङ््जालाई ३–१ ले हराउँदै ३ अंक बटुल्न सफल भएको थियो ।

त्यस्तै, बिहीबार नै भएको दोस्रो खेलमा घरेलु कास्कीको आदर्श युवा क्लबले डाँफे युवा क्लब मनाङलाई ७–२ को विशाल गोल अन्तरले हराउँदै स्पष्ट ३ अंक जोड्न सफल भएको छ ।

कास्कीका लागि सुलेमान थापामगरले ४ गोलको योगदान गरे । उनले खेलको ८, ४८, ६३ र ७४ औं मिनेटमा गोल गरेका थिए । अजय श्रेष्ठले १७ औं मिनेट र इन्जुरी समयमा गोल गरे । सुमित श्रेष्ले ६८ औं मिनेटमा गोल गरे ।

डाँफे युवा क्लब मनाङका लागि कर्ण गुरुङले ५५ र सिद्धार्थ गुरुङले ६० औं मिनेटमा गोल गरे । लिग अन्तर्गत समूह ‘ए’ बाट लगातार २ खेल खेलेको कास्कीले २ जित निकाल्दै ६ अंक जोड्न सफल भएको छ ।

कास्कीले लिग अन्तर्गत मंगलबार भएको उद्घाटन खेलमा बौद्ध हिमाल क्लब गोरखालाई ३–१ ले पाखा लगाउँदै ३ अंक बटुल्न सफल भएको थियो । जारी लिगमा २ खेल खेलेको डाँफे युवा क्लब मनाङको भने दुबै खेलमा लगातार हार ब्यहोरेको छ । उसले कुनैपनि अंक जोड्न सकेको छैन । पहिलो खेलमा लमजुङसँग पराजित हुँदै मनाङले अंक गुमाएको थियो ।

बिहीबार नै भएको समूह ‘बी’ को होराइजन युथ क्लब स्याङ्जाले बागलुङ जिल्ला फुटबल क्लबलाई ४–० ले हाउँदै ३ अंकको खाता खोलेको छ । पहिलो खेलमा गैंडाकोट खेलकुद विकास समितिसँग अंक गुमाएको स्याङ्जाले दोस्रो खेलमा अंकको खाता खोल्न सफल बन्यो ।

स्याङ्जाको जितमा शरदकुमार क्षत्रीले ह्याट्रिक गरे । शरदले खेलको २०, २२ र ३९ औं मिनेटमा ब्यक्तिगत ह्याट्रिक पूरा गरे । स्याङ््जाकै लागि ध्रुब घिमिरेले खेलको ७९ औं मिनेटमा १ गोल थपे । जारी लिगमा २ खेल खेलेको बागलुङले कुनै अंक जोड्न सकेको छैन । बुधबार पहिलो खेल खेलेको बागलुङले भिमाद युवा क्लब तनहुँसँग अंक गुमाएको थियो ।

लिग अन्तर्गत शुक्रबार पनि ३ खेल हुने म्याच कमिशनर एलबी ज्वारचनले जानकारी दिए । ज्वारचनका अनुसार शुक्रबारको पहिलो खेल समूह ‘ए’ को बौद्ध हिमाल क्लब गोर्खा विरुद्ध त्रिवेणी क्लब लमजुङले प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, समूह ‘बी’ को भिमाद युथ क्लब तनहुँ र म्याग्दी जिल्ला फुटबल संघबीच दोस्रो खेल हुनेछ । समूह ‘बी’ कै गैडाकोट खेलकुद विकास समिति नवलपुर र बागलुङ जिल्ला खेलकुद विकास समितिबीच तेस्रो खेल हुनेछ ।