राष्ट्रिय सभा सदस्यमा गण्डकीबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी

पोखरामा भएको मतदानमा ३ हजार ४ सय ६२ मतभार प्राप्त गर्दै श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुन सफल भएका हुन्, भगवती न्यौपानेले ३ हजार ३ सय ६६ मतभार प्राप्त गर्दै विजयी हुन सफल भएकी हुन्

जनसम्मत
माघ १०, २०७६, शुक्रबार

पोखरा । राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी भएका छन् ।

विजयी श्रेष्ठ गोरखा र न्यौपाने तनहुँका हुन् । नेकपा प्रवक्ता समेत रहेका श्रेष्ठ (अन्य समूहतर्फ) ले बिहीबार पोखरामा भएको मतदानमा ३ हजार ४ सय ६२ मतभार प्राप्त गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुन सफल भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मतभार प्राप्त गरे । अर्का राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १ सय ९८ मतभार प्राप्त गरे ।

सो समूह अन्तर्गत कुल ६० जना मतदाता प्रदेशसभाअन्तर्गत विजयी श्रेष्ठको पक्षमा ४१ मत (१ हजार ९ सय ६८ मतभार) तथा गाउँपालिका/नगरतर्फ १ सय ६८ मतदातामध्ये ८३ मत (१ हजार ४ सय ९४ मतभार) गरी कुल ३ हजार ४ सय ६२ मतभार प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रवक्ता रुद्र न्यौपानेले जानकारी दिए । निकटतम् प्रतिद्वन्दी काँग्रेस उम्मेदवार रेग्मीले प्रदेशतर्फ १६ मत तथा पालिका तथा नगरतर्फ ८२ मत प्राप्त गरेका थिए ।

उता, महिला समूहतर्फ विजयी नेकपाकी उम्मेदवार भगवती न्यौपानेले ३ हजार ३ सय ६६ मतभार प्राप्त गर्दै विजयी हुन सफल भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेस उम्मेदवार बिमल गौचनले २ हजार ३ सय ४० मतभार प्राप्त गरेकी थिइन् ।

विजयी न्यौपानेले प्रदेशसभातर्फ ३९ मत (१ हजार ८ सय ७२ मतभार) तथा गाउँपालिका/नगरतर्फ ८३ मत (१ हजार ४ सय ९४ मतभार) गरी कुल ३ हजार ३ सय ६६ मतभार प्राप्त गरेकी हुन् ।

काँग्रसकी गौचनले प्रदेशतर्फ १८ मत (८ सय ६४ मतभार) तथा गाउँपालिका/नगरतर्फ ८२ मत (१ हजार ४ सय ७६ मतभार) गरी कुल २ हजार ३ सय ४० मतभार प्राप्त गरेकी थिइन् ।

चुनावमा नेकपा, काँग्रेस र जनमोर्चाबाट २ पदका लागि ५ जनाको उम्मेदवारी परेको थियो । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म भएको मतदानमा १ सय ७० मतदातामध्ये १ सय ६८ जनाले मतदान गरेका थिए । चुनावमा गोरखा सिराञ्चोक गाउँपालिका उपाध्यक्ष रीता देवकोटा र मुस्ताङको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट उपस्थित भएनन् ।

( ई–आदर्श डट कममा समाचार प्रकाशित छ )