आइसीसी एक दिवसीय श्रृंखला खेल्ने नेपाली टोलीको घोषणा

नेपाल, ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक श्रंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो

जनसम्मत
माघ ११, २०७६, शनिबार

पोखरा । आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय श्रृंखला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

नेपाल, ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक श्रंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

हाल पोखरामा बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । टोलीमा कप्तान मल्लसहित दीपेन्द्र सिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अभिनाष बोहरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी, रोहितकुमार पौडेल, शरद भेषवाकर र ललित राजवंशी छनोटमा परेका छन् ।

यसअघि, १९ वर्षमुनिको राष्ट्रिय टोलीबाट खेलिसकेका तीव्र गतिका बलर कमलसिंह ऐरी पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । त्यसैगरी, वैकल्पिकतर्फ पवन सर्राफ, सुवास खकुरेल, सन्दीप जोरा र किशोर महतो छन् । माघको २२ गतेदेखि २९ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा त्रिकोणात्मक खेल हुनेछ ।