ए डिभिजन लिगमा च्यासलले ब्रिगेडलाई हरायो

कप्तान सन्तोष साहुखलको निर्णायक गोलमा च्यासलले ब्रिगेडलाई १–० गोलले हराएको हो

जनसम्मत
माघ ११, २०७६, शनिबार

पोखरा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबलाई हराएको छ ।

दशरथ रंगशालामा शुक्रबार भएको खेलमा च्यासलले ब्रिगेडलाई १–० गोलले हरायो । च्यासलको जितमा कप्तान सन्तोष साहुखलले निर्णायक गोल गरेका थिए ।

सन्तोषले इन्जुरी समयमा गोल गर्दै च्यासललाई महत्वपूर्ण ३ अंकको योगदान दिए । डिबक्सभित्र ब्रिगेडका रक्षकको कमजोरीको फाइदा उठाउँदै सन्तोषले उत्कृष्ट गोल गरेका थिए । च्यासलले दोस्रो हाफमा थप गोलको अवसर गुमाएको थियो । पहिलो हाफको औसत प्रदर्शन गरेको ब्रिगेड दोस्रो हाफमा कमजोर देखियो ।

च्यासलका जापानी खेलाडी नाकामुरा ‘म्यान अफ दी म्याच’ बने । नाकामुराले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै च्यासल लिगको आठौं स्थानमा उक्लिएको छ । च्यासलले ८ खेलबाट ९ अंक बनाएको छ । समान खेलबाट ८ अंक बनाएको ब्रिगेड लिगको १० औं स्थानमा छ ।

यस्तै, लिग फुटबलमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले कठिन जित निकालेको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मनाङले रेलिगेसनको पीडामा रहेको सरस्वती युथ क्लबलाई १–० गोलले हरायो ।

मनाङको जितमा विमल रानाले निर्णायक गोल गरे । विमलले ४६ औं मिनेटमा गोल गरेका थिए । जितसँगै मनाङ तेस्रो स्थानमा उक्लिएको छ । मनाङले ८ खेलबाट ४ जित ४ बराबरीसँगै १६ अंक बटुलेको छ ।