मुख्यमन्त्री कप लिग फुटबलमा लमजुङ, तनहुँ र नवलपुरको जित

पहिलो खेलमा समूह ‘क’ मा रहेको त्रिवेणी युवा क्लब लमजुङले बौद्ध हिमाल क्लब गोर्खालाई ७–१ ले, दोस्रो खेलमा समूह ‘ख’ को भिमाद युथ क्लब तनहुँले म्याग्दी जिल्ला खेलकुद विकास समितिलाई २–१ ले र तेस्रो खेलमा गैंडाकोट खेलकुद विकास समिति नवलपुरले बागलुङ जिल्ला खेलकुद विकास समितिमाथि ४–१ को जित निकालेको छ

जनसम्मत
माघ ११, २०७६, शनिबार

पोखरा । त्रिवेणी युवा क्लब लमजुङ, भिमाद युथ फुटबल क्लब तनहुँ र गैडाकोट खेलकुद विकास समिति नवलपुर पोखरामा जारी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबलमा विजयी बनेका छन् ।

पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा समूह ‘क’ मा रहेको त्रिवेणी युवा क्लब लमजुङले बौद्ध हिमाल क्लब गोर्खालाई ७–१ गोलले हराएको छ । खेलपछि, बौद्ध हिमाल क्लब गोरखाले लमजुङको त्रिवेणी युवा क्लबविरुद्ध प्रोटेस्ट हालेको छ । उक्त खेलमा लमजुङले जितेपनि प्रोटेस्टका कारण लमजुङले प्राप्त गरेको ३ अंकलाई जोडिएको छैन ।

पहिलो खेलमा सहभागी नगराएको खेलाडीलाई दोस्रो खेलमा सहभागी गराएको भन्दै गोरखाले लमजुङमाथि प्रोटेस्ट हालेको प्रतियोगिता म्याच कमिशनर एलबी ज्वारचनले बताए । गोरखाको प्रोटेस्टबारे छानबीन भइरहेको ज्वारचनले प्रष्ट पारे । उनले भने, ‘प्रोटेस्टबारे हामी भोली शनिबार १० बजेभित्र पूरा छानबीनसहित एउटा निर्णय गर्र्छौ र गोरखालाई सुनाउँछौं ।’

लमजुङका लागि नवराज गुरुङ र आशिक गुरुङले २÷२ गोलको योगदान गरे । उज्वल शाही, हरि गुरुङ र अस्विन गुरुङले १÷१ गोल थपे । खेलको १५ औं मिनेटमा उज्वल शाहीको गोलबाट अग्रता लिएको लमजुङका लागि ३३ औं मिनेटमा हरि गुरुङले गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए ।

नवराजले खेलको ४५ र ४९ औं मिनेटमा दुई गोल गर्दै लमजुङको अग्रतालाई फराकिलो बनाए । त्यसपछि, खेलको ५५ औं मिनेटमा अस्विनले गोल थप्दै लमजुङको अग्रतालाई ५–० पु¥याए । गोरखाका बिनु गुरुङले ५७ औं मिनेटमा टोलीका लागि एक मात्र गोल गरे । लमजुङका आशिक गुरुङले ६९ र इन्जुरी समयमा २ गोल गरे ।

लिग फुटबल अन्तर्गत शुक्रबार नै भएको दोस्रो खेलमा समूह ‘ख’ को भिमाद युथ क्लब तनहुँले म्याग्दी जिल्ला खेलकुद विकास समितिलाई २–१ गोलको जित निकाल्यो । यस जितसँगै तनहुँले जारी लिगमा ६ अंक जोड्न सफल भएको छ । यसअघि, बुधबार तनहुँले बागलुङ जिल्ला खेलकुद विकास समितिसँगको पहिलो खेलमा जित निकालेको थियो ।

तनहुँको जितमा बिनोद घिमिरे नायक बने । बिनोदले खेलको ४१ र ७४ औं मिनेटमा २ गोल गरे । देवस छन्त्यालले खेलको २८ औं मिनेटमा गरेको गोलबाट सुरुवाती अग्रता लिएपनि उसले थप गोल गर्न सकेन । समूह ‘ख’ मा रहेको म्याग्दीले जारी लिगमा ३ अंक मात्रै जोडेको छ । उसले बिहीबार खेलेको पहिलो खेलमा गैडाकोट खेलकुद विकास समितिसँग ३ अंक खोस्न सफल भएको थियो ।

यस्तै, लिग फुटबल अन्तर्गत शुक्रबार भएको तेस्रो खेलमा गैंडाकोट खेलकुद विकास समिति नवलपुरले बागलुङ जिल्ला खेलकुद विकास समितिमाथि ४–१ को जित निकालेको छ । जारी लिगमा ३ खेल खेलेको नवलपुरले यस जितसँगै ६ अंक जोड्न सफल भएको छ ।

यसअघि, बुधबारको खेलमा होराइजन युथ क्लबमाथि जित निकाल्दै नवलपुरले ३ अंकको खाता खोलेको थियो । बिहीबार, दोस्रो खेल खेलेको नवलपुरले म्याग्दीसँग हार्दै अंक गुमाएको थियो ।

नवलपुरका लागि आशिष महतोले २ गोलको योगदान गरे । आशिषले खेलको ७ र ३१ औं मिनेटमा गोल गरेका थिए । प्रविण गुरुङले ७३ औं मिनेटमा १ गोल थपे । नवलपुरका लागि बागलुङले १ आत्मघाति गोलको उपहार दियो । राजन गुरुङले आत्मघाति गोल गरेका थिए । खेलको ७६ औं मिनेटमा प्रमेश थापाले बागलुङका लागि एक मात्र शान्त्वना गोल गरे ।

शनिबार, जारी लिग अन्तर्गत समूह ‘क’ को आदर्श युवा क्लब कास्की र त्रिवेणी युवा क्लब लमजुङबीच पहिलो खेल हुने आयोजक अखिल नेपाल फुटबल संघ, गण्डकी प्रदेश समितिले जनाएको छ । आयोजकका अनुसार शनिबार नै समूह ‘ख’ को होराइजन युथ क्लब स्याङ्जा र म्याग्दी जिल्ला खेलकुद विकास समितिबीच दोस्रो खेल हुनेछ । त्यस्तै, समूह ‘ख’ कै भिमाद फुटबल क्लब तनहुँ र गैडाकोट खेलकुद विकास समिति नवलपुरबीच तेस्रो खेल हुनेछ ।