ए डिभिजन लिगमा एनआरटीले आर्मीसँग अंक खोस्यो

शनिबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम (एनआरटी) गोलरहित बराबरी खेल्दै समान १/१ बटुलेका छन्,

जनसम्मत
माघ १२, २०७६, आइतबार

पोखरा । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानमा रहेको विभागीय आर्मीसँग एनआरटीले अंक खोसेको छ ।

शनिबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम (एनआरटी) गोलरहित बराबरी खेल्दै समान १/१ बटुलेका छन् । यस बराबरीसँगै आर्मी लिगको शीर्षस्थानमा उक्लिएपनि १ अंकले मात्र अग्रता छ ।

खेलको शुरुवाती चौथो मिनेटमा नवयुग श्रेष्ठको सशक्त प्रहार पोस्टबाट थोरै बाहिरियो । त्यसपछि, १५ औं मिनेटमा भरत खवासको हेडर गोलरक्षक अजित प्रजापतिले बचाउ गरे । लगत्तै, जर्ज प्रिन्स कार्कीको प्रहारलाई गोलरक्षक अजितले मुस्किलले बचाउ गरे ।

खेलको १६ औं मिनेटमा एनआरटीका दर्शन गुरुङले पाएको उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेनन् । खेलको ३६ औं मिनेटमा पेनाल्टी बक्स बाहिर आर्मीले फ्री–किक पाएपछि जर्ज प्रिन्सको प्रहार माथिल्लो बार हुँदै बाहिरियो ।

त्यसपछि, ६३ औं मिनेटमा आर्मीका कप्तान भरत खवासको हेडिङ प्रयास खेर गयो । खेलको ८० औं मिनेटमा युद्व शाहीको क्रसपासमा नवयुग श्रेष्ठको पावरफुल हेडर पोस्टबाट बाहिरिदा आर्मी अग्रता लिनबाट चुक्यो ।

लगत्तै, ८५ औं मिनेटमा आर्मीको दुई प्रहारमा गोलरक्षक अजित बाधक बने । इन्जुरी समयको थप दोस्रो मिनेटमा एनआरटी १० खेलाडीमा समेटियो । आर्मीका खेलाडीलाई खराव ट्याकल गरेपछि रेफ्रीले जुनियरलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । त्यसमै, प्राप्त फ्री–किकमा सन्तोष तामाङको प्रहारलाई गोलरक्षक अजितले उत्कृष्ट डाइभ सहित बचाउ गरे ।
यस बराबरीसँगै विभागीय आर्मी ८ खेलबाट १७ अंक सहित झिनो शीर्ष स्थानमा छ । आर्मीले ८ खेलबाट ५ जित, २ बराबरी र १ हार बेहोरेको छ । एनआरटीले ८ खेलबाट १२ अंक बटुलेको छ ।

फ्रेण्ड्समाथि संकटाको जित

संकटा क्लबले राजधानीमा जारी कतार एअरवेज सहिद स्मारक ‘ए‘ डिभिजन लिग फुटबलमा जित निकाल्दै अंक जोड्न सफ लबनेको छ । संकटाले लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको हो ।

दशरथ रंगशालामा भएको दोस्रो खेलमा संकटाले फ्रेण्ड्समाथि १–० को कठिन जित निकाल्यो । संकटाको निर्णायक जितमा अजेयी मार्टिन्स नायक बने । मार्टिन्सले संकटाका लागि ६४ औं मिनेटमा निर्णायक गोल गरे । सुवास गुरुङले बायाँ विङको कर्नर नजिकबाट प्रहार गरेको फ्री–किकमा अजेयीले हेडर मार्फत गोल गरेका थिए ।

फ्रेन्ड्सले सुरुवाती समयमा संकटामाथि दवाव दिएपनि पोस्टमा बलियो आक्रमण गर्न सकेन । खेलको २४ औं मिनेटमा संकटाले अग्रता लिने सुवर्ण अवसर गुमायो । पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा संकटाको प्रहार आकासियो । खेलको ३० औं मिनेटमा फ्रेन्ड्सका विश्व अधिकारीको फ्री–किकमा वाग्नर डे कार्मोको प्रहार पोस्टबाट बाहिरियो ।

दोस्रो हाफमा संकटाले सुधारिएको प्रदर्शन ग¥यो । ४७ औं मिनेटमा अमित तामाङको क्रसमा कर्ण लिम्बुको ब्याकहिल प्रहार पोस्टको दिशा लिन सकेन । लगत्तै ५५ औं मिनेटमा लक्ष्मण रुचालले २५ यार्ड टाढाबाट प्रहार गरेको सट माथिल्लो बार हुँदै बाहिरियो ।

यस जितसँगै संकटाले ८ खेलबाट १२ अंक जोडेको छ । संकटाले ८ खेलमा ३ जित, ३ बराबरी र २ हार बेहोरेको छ । पाँचौ स्थानमा एनआरटी, जावलाखेल र संकटाको समान १२/१२ अंक छ । जारी लिगमा फ्रेन्ड्सको ८ खेलबाट ८ अंकसहित ११ औं स्थानमा छ ।