मुख्यमन्त्री कप लिग फुटबलमा कास्की र तनहुँको लगातार तेस्रो जित

खेलमा समूह ‘ए’ को खेलमा आदर्श युवा क्लबले त्रिवेणी युवा क्लब लमजुङलाई १–० ले, होराइजन युथ क्लब स्याङ्जाले म्याग्दी जिल्ला खेलकुद समितिमाथि १–० ले र भिमाद फुटबल क्लब तनहुँले गैडाकोट नवलपुरमाथि २–१ को जित निकाल्दै स्पष्ट ३ अंक जोडेको छ

जनसम्मत
माघ १२, २०७६, आइतबार

पोखरा । कास्कीको लिग लिडर आदर्श युवा क्लबले पोखरामा जारी मुख्यमन्त्री कप लिग फुटबलमा लतातार तेस्रो जित निकालेको छ ।

पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा शनिबार भएको खेलमा समूह ‘ए’ को खेलमा आदर्श युवा क्लबले त्रिवेणी युवा क्लब लमजुङलाई १–० ले पराजित गर्दै स्पष्ट ३ अंक जोडेको छ । कास्कीका लागि सुमित श्रेष्ठले २१ औं मिनेटमा गोल गरेका थिए ।

लमजुङमाथिको जितसँगै लिगमा कास्कीले समूह ‘ए’ को शीर्ष स्थानमा छ । कास्कीले जारी लिगमा हालसम्म अपराजित यात्रालाई कायम राखेको छ । लमजुङसँगको अन्तिम खेलसँगै कास्कीले लिग चरणलाई टुंगाएको छ । लिग अन्तर्गत ४ टोली समावेश समूह ‘ए’ मा कास्कीले ३ खेलबाट ९ अंक जोडेको छ । कास्की स्वतः समूह विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

त्रिवेणी युवा क्लब लमजुङको भने जारी लिगमा दोस्रो जित निकालेको छ । उसले पहिलो खेलमा डाँफे युवा क्लब मनाङलाई पराजित गर्दै टोलीको नाममा स्पष्ट ३ अंकको खाता खोलेको थियो । दोस्रो खेलमा पनि बौद्ध हिमाल क्लब गोरखामाथि ७–१ को विशाल गोल अन्तरले जित निकाल्दै ३ अंक जोडेको छ । यद्यपी, गोरखाले प्रोटेस्ट पारेको कारण लमजुङले पाएको उक्त ३ अंकको छिनाफानो हुनै बाँकी छ ।

शनिबार नै भएको समूह ‘बी’ को खेलमा होराइजन युथ क्लब स्याङ्जाले म्याग्दी जिल्ला खेलकुद समितिमाथि १–० को जित निकालेको छ । स्याङ्जाको जितमा विशाल मल्लले १८ औं मिनेटमा गोल गरे ।

म्याग्दीमाथिको जितसँगै स्याङ्जाले स्पष्ट ३ अंक जोडेको छ । जारी लिगमा स्याङ्जाले ३ खेलबाट ६ अंक बटुलेको छ । उसले पहिलो खेलमा बागलुङ जिल्ला खेलकुद समितिलाई हराएउँदै ३ अंकको खाता खोलेको थियो । जारी लिगमा ३ खेल खेलेको स्याङ्जाले २ जित र १ खेल हार्दै ६ अंक बटुलेको हो । स्याङ्जाले गैडाकोट खेलकुद विकास समिति नवलपुरसँग हारेको थियो ।

समान खेल खेलेको म्याग्दीको खातामा भने ३ अंक मात्रै छ । उसले गैडाकोट खेलकुद विकास समिति नवलपुरमाथि जित हात पारेको थियो । यसअघि, म्याग्दीले भिमाद फुटबल क्लब तनहुँसँग हार ब्यहोरेको थियो ।

लिग अन्तर्गत शनिबार भएको अन्तिम खेलमा भिमाद फुटबल क्लब तनहुँले गैडाकोट नवलपुरमाथि २–१ को जित निकाल्दै स्पष्ट ३ अंक जोडेको छ । तनहुँको जितमा विनोद घिमिरे र प्रदीप थापाले गोल गरे ।

खेलको चौथो मिनेटमा आशिष महतोले टोलीका लागि दिलाएको अग्रतालाई नवलपुरले बचाउ गर्न सकेन । खेलको ५१ मिनेटमा विनोद घिमिरेले तनहुँका लागि पहिलो गोल गर्दै बराबरीमा पु¥याए । त्यसपछि, ६७ औं मिनेटमा प्रदीप थापाले तनहुँका लागि निर्णायक गोल गरे ।

जारी लिगको समूह ‘बी’ मा ९ अंक सहित तनहुँ शीर्ष स्थानमा छ । तनहुँले खेलेको ३ खेलबाट ३ जित निकालेको हो । उसले यसअघि, बागलुङ जिल्ला खेलकुद समिति र म्याग्दी जिल्ला खेलकुद विकास समितिलाई पराजित गरिसकेको छ ।

जारी लिगमा तीन खेल खेलेको नवलपुरले १ जित र २ हार सहित ३ अंक मात्रै बटुलेको छ । यसअघि, नवलपुरले स्याङ््जाको होराइजन युथ क्लबमाथि जित निकालेको थियो । त्यस्तै, म्याग्दी जिल्ला खेलकुद विकास समितिसँग स्तब्ध बनेको थियो ।

आइतबार, समूह ‘बी’ अन्तर्गत बागलुङ जिल्ला खेलकुद विकास समिति र म्याग्दी जिल्ला खेलकुद विकास समितिबीच पहिलो खेल हुने आयोजक अखिल नेपाल फुटबल संघ गण्डकी प्रदेश समितिले जनाएको छ ।

आयोजकका अनुसार समूह ‘ए’ को बौद्ध हिमाल युवा क्लब गोरखा र डाँफे युवा क्लब मनाङबीच दोस्रो खेल हुनेछ । तेस्रो खेल समूह ‘बी’ को भिमाद फुटबल क्लब तनहुँ र होराइजन युथ क्लब स्याङ्जाबीच हुनेछ ।

आइतबार, लिग अन्तर्गतका सबै खेल सकिनेछन् । आइतबार नै समूह विजेता र उपविजेता छुट्याइने प्रतियोगिता म्याच कमिशनर एलबी ज्वारचनले बताए । उनका अनुसार समूह ‘ए’ को विजेतासँग समूह ‘बी’ को उपविजेताले र समूह ‘बी’ को विजेतासँग समूह ‘ए’ को उपविजेताले सेमिफाइनल खेल्नेछन् ।

 

तस्बीर : आदर्श समाज