ललितपुरको टि–बर्गर भेट्रान एट ए साइड च्याम्पियन

शनिबार पोखरा–१, टुंडिखेल मैदानमा भएको फाइनल खेलमा गत वर्षको विजेता अमरसिंह ब्वाइज क्लब (एबीसी) भेट्रानलाई २–१ गोलले पछाडि पार्दै टि–बर्गर च्याम्पियन बनेको हो

जनसम्मत
माघ १२, २०७६, आइतबार

पोखरा । टि–बर्गर ललितपुर पोखरामा भएको तेश्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक भेट्रान एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

शनिबार पोखरा–१, टुंडिखेल मैदानमा भएको फाइनल खेलमा गत वर्षको विजेता अमरसिंह ब्वाइज क्लब (एबीसी) भेट्रानलाई २–१ गोलले पछाडि पार्दै टि–बर्गर च्याम्पियन बनेको हो ।

च्याम्पियन बनेसँगै विजेता टि–बर्गरले १ लाख, ११ हजार सहित ट्रफी पुरस्कार प्राप्त ग¥यो । उपविजेता अमरसिंह ब्वाइज क्लब (एबीसी) ले ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी पुरस्कारमा चित्त बुझायो ।

टि–बर्गरको तर्फबाट दुवै गोल टियाराम भुजेलले गरे । फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका टियारामले पहिलो गोल १३ औं मिनेटमा र दोश्रो गोल २९ औं मिनेटमा गरेका थिए । एबीसीका तर्फबाट दोश्रो हाफको शुरुवाती ३३ औं मिनेटमा बिजय गुरुङले सान्त्वना गोल गरे । फाइनल खेलमा उपाधि विजेता टि–बर्गरका टियाराम ‘म्यान अफ दी म्याच’ बने ।

टि–बर्गरका नरेन्द्र लिम्बु प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए । नरेन्द्रले १० हजार नगद सहित सवोत्कृष्ट खेलाडीको ट्रफी हात पारे । त्यसैगरी, सेमीफाइनलिस्ट प्रत्येक टिमले प्रोत्साहन स्वरुप समान १०/१० हजार प्राप्त गरे ।

त्यसैगरि, एबीसीका रबिन शाही उत्कृष्ट गोलकीपर, एबीसीकै विश्वलाल श्रेष्ठ उत्कृष्ट डिफेन्डर, टि–बर्गरका सुक्र तामाङ उत्कृष्ट फरवार्ड र उपाधि टि–बर्गरकै टियाराम भुजेल उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले समान ५÷५ हजार र उत्कृष्टको ट्रफी पाए ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, प्रदेश सांसद कृष्ण थापा, विशिष्ट ब्यक्तित्व लगायतले विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

यसअघि, प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गुरुङले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेको औंल्याए । खेलकुदद्वारा हुने आपसी सद्भावलाई कायम राखेर अगाडि बढ्नुपर्ने उनले बताए ।

खेलप्रेमीलाई प्रतियोगितामा स्वागत गर्दै बगर भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङले खलकले विगतदेखि गरेको गतिविधिबारे जानकारी दिएका थिए । गुरुङले प्रतियोगिताका लागि सहयोग गर्ने सहयोगी सबैलाई धन्यवाद समेत व्यक्त गरे ।

‘स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने मूल नारालाई आत्मसात गर्दै बगर भाइखलक पोखराले विगत २०६८ सालदेखि ४० वर्षदेखि ६५ वर्षसम्मको उमेर समुहको भेट्रान फुटवल प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगितामा विभिन्न ९ जिल्ला र भारत कलकत्ताका गरी २८ टिमको सहभागिता थियो ।

उक्त अवसरमा बगर भाइखलक पोखराले प्रतियोगितामा सहभागी सवैभन्दा जेष्ठ खेलाडी श्रृंखला भेट्रानका चिनबहादुर खत्रीलाई सम्मान समेत ग¥यो । याम गुरुङले कार्यक्रमको संचालन गरेका थिए ।

तस्बीर : राजु गिरी