फाइलनका लागि सेमिफाइनलमा कास्की र तनहुँ, स्याङ्जा र लमजुङ आमने–सामने

जनसम्मत
माघ १३, २०७६, सोमबार

पोखरा । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

पोेखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा जारी प्रतियोगिताको आइतबार लिग अन्तर्गतको अन्तिम ३ खेलको समाप्तिसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । सेमिफाइनलका लागि समूह ‘ए’ बाट नवआदर्श युवा क्लब कास्की विजेता र त्रिवेणी युवा क्लब लमजुङ उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएका छन् ।

चार टिम सम्मिलित समूह ‘ए’ बाट अपराजित रहँदै कास्कीको नव आदर्श युवा क्लबले ९ अंक जोडेर सेमिफाइनल यात्रा तय गरेको हो । त्यस्तै, लमजुङले ३ खेलबाट २ जित र १ हार सहित ६ अंक बटुलेर सेमिफाइनलका लागि स्थान बनाएको हो ।

उक्त समूह ‘ए’ मा रहेको बौद्ध हिमाल क्लब गोरखा र डाँफे युवा क्लब मनाङ भने जारी प्रतियोगितामा १/१ अंक बटुलेर लिग चरणबाटै बाहिरिएका छन् । समान ३/३ खेल खेलेको दुबै टोलीले यसअघिको खेलहरुमा हार ब्यहोरेको थियो । आइतबारको अन्तिम दुई खेलमा भने दुबै टोलीले बराबरी खेल्दै समान १/१ अंक बाँडेका थिए ।

त्यस्तै, समूह ‘बी’ बाट स्याङ्जाको होराइजन युथ क्लब विजेता र तनहुँको भिमाद फुटबल क्लब उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । यस समूहबाट स्याङजाको होराइजन युथ क्लब र तनहुँको भिमाद फुटबल क्लबले समान ९/९ अंक जोडेपनि गोल संख्याको आधारमा स्याङ्जाको टिम समूह विजेता र तनहुँको टोली उपविजेता बनेको हो । तनहुँको भिमाद फुटबल क्लबको भन्दा स्याङ्जाको होराइजन युथ क्लबको खातामा २ गोल बढि छ ।

प्रतियोगिता अन्तर्गत सोमबारदेखि सेमिफाइनलका खेलहरु हुनेछन् । सोमबार समूह ‘ए’ को विजेता नवआदर्श युवा क्लब कास्की र समूह ‘बी’ उपविजेता तनहुँको भिमाद फुटबल क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछन् । त्यस्तै, समूह ‘बी’ को विजेता स्याङ्जाको होराइजन युथ क्लब र लमजुङको त्रिवेणी युवा क्लबबीच दोस्रो सेमिफाइनल खेल खेल्नेछन् ।

प्रतियोगिता अन्तर्गत आइतबार भएको अन्तिम लिग खेलमा म्याग्दी जिल्ला खेलकुद समितिले बागलुङ फुटबल क्लबलाई ४–० ले पराजित ग¥यो । म्याग्दीको जितमा निशान गुरुङले २१ र ३० औं मिनेटमा २ गोल गरे । त्यस्तै, सन्तोष गुरुङले ४२ र विश्वास थापाले ५५ औं मिनेटमा गोल गरे ।

जित निकालेर लिगमा ६ अंक बटुलेपनि समूह ‘बी’ मा रहेको म्याग्दीले सेमिफाइनलमा पुग्न स्याङजा र तनहुँलाई भेट्न सकेन । पाँच समूह सम्मिलित यस समूहबाट समान ६ अंक बनाएर नवलपुरको गैडाकोट खेलकुद विकास समिति समेत लिग चरणबाट बाहिरिएको छ । यसै समूहबाट कुनैपनि अंकको खाता खोल्नै नपाई बागलुङ जिल्ला खेलकुद समिति पनि लिग चरणबाटै बाहिरिएको छ ।

आइतबार नै लिग अन्तर्गत समूह ‘ए’ अन्तिम खेलमा गोरखा र मनाङले १–१ को बराबरी खेल्दै लिगमा समान १/१ अंकको खाता खोले । डाँफे युवा क्लब मनाङका लागि सुमन गुरुङले ७६ औं र गोरखाका सुदीप लामाले लगत्तै ७७ औं मिनेटमा गोल गरे ।

समूह ‘बी’ अन्तर्गत नै आइतबार भएको अन्तिम लिग खेलमा स्याङ्जाको होराइजन युथ क्लबले तनहुँको भिमाद फुटबल क्लबलाई १–० ले हराउँदै तनहुँसँगको अंक बराबरी गरेको थियो । स्याङ्जाका लागि २१ औं मिनेटमा शरदकुमार क्षत्रीले निर्णायक गोल गरेका थिए ।