थप २ नेपाली र १ अमेरिकी नागरिकमा कोरोना संक्रमणको आशंका

कोरोना भाइरस श्वास–प्रश्वासबाट सर्ने भएकाले सुरुमा स्वाइन फ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिने लक्षण देखिन सक्ने

जनसम्मत
माघ १३, २०७६, सोमबार

पोखरा । चीनबाट फर्किएका थप दुई नेपाली र एक अमेरिकी नागरिकलाई कोरोना संक्रमणको आशंका गरिएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणको आशंका गरी उपचार गर्नेको संख्या ५ पुगेको छ । कोरोना भाइरस संक्रमणको आशंकामा उनीहरुलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरी उपचार प्रक्रिया सुरु गरिएको छ ।

चीनबाट फर्किएका १ महिला, १ पुरुष तथा अमेरिकी नागरिकमा कोरोना भाइरससँग मिल्दो लक्षण देखिएको र उपचार थालिएको अस्पतला स्रोतले जनाएको छ । सरुवा रोग अस्पताल टेकुमा उपचार कक्षको स्थापना समेत गरिएको छ ।

चीनबाट फर्केका एक नेपाली युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भैसकेको छ । ती युवामा संक्रमणको पुष्टिसँगै अरु २ जनामा पनि आशंका गरिएको थियो । कोरोना भाइरसको संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गरी सरकारले सतर्कता बढाएको जनाएको छ ।

कोरोना भाइरस श्वास–प्रश्वासबाट सर्ने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ । सुरुमा स्वाइन फ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिने लक्षण देखिन सक्ने डाक्टर बासुदेव पाण्डेले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फैलनसक्ने संक्रमणतर्फ सतर्क रहेको जनाएको छ । नेपालमा १ जनामा मात्र संक्रमण पुष्टि भएको र आवश्यक सतर्कता अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।

चीनसँग जोडिएका नाकाहरु र त्रिभुवन विमानस्थलमा चीन तथा अरु देशबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको पनि डा. श्रेष्ठले बताएका छन् ।

संक्रमण आशंका भए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल ललितपुरसहित अरु अस्पतालमा उपचारको व्यवस्था गर्ने गरी मन्त्रालयले तयारी गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

(उज्यालो अनलाइनमा समाचार छ)