प्रतिनिधि सभाको सभामुख पदमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित

यही माघको ६ गतेको प्रतिनिधिसभाको बैठकले आइतबारका लागि सभामुख चुनावको मिति तय गरेको थियो, तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौन दुव्र्यवहारको विवादमा परेपछि महराले गत असोजको १५ गते पदबाट राजीनामा दिएका थिए

जनसम्मत
माघ १३, २०७६, सोमबार

पोखरा । प्रतिनिधि सभाको सभामुख पदमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेसँगै बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले समर्थन जनाएका थिए ।

यही माघको ६ गतेको प्रतिनिधिसभाको बैठकले आइतबारका लागि सभामुख चुनावको मिति तय गरेको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौन दुव्र्यवहारको विवादमा परेपछि महराले गत असोजको १५ गते पदबाट राजीनामा दिएका थिए । हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।

सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन कार्यतालिका तय हुनेछ । गत पुसको ४ गते सुरु भएको संघीय संसद्को चालु पाँचौँ अधिवेशनअन्तर्गत राष्ट्रियसभाका बैठक नियमित भएपनि प्रतिनिधिसभाको सभामुख रिक्तता र त्यसमा राजनीतिक सहमतिमा ढिलाइका कारण बैठक स्थगन हुँदै आएको थियो ।

लोकतन्त्रको मूल्यमान्यता र आदर्शलाई कायम गर्नेछु : सभामुख सापकोटा

 

प्रतिनिधिसभामा निर्वाचित भएपछि नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको ओज र गरिमालाई कायम राख्न आफू सधैँ दत्तचित्त र इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेकाछन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकबाट निर्वाचित भएर बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले आफू तटस्थ, निष्पक्ष र सन्तुलित भूमिका निर्वाहका लागि लाग्ने स्पष्ट पारे ।

उनले आफूलाई उम्मेदवार बनाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा सहयोग गर्ने नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी पार्टीलगायत सबैलाई धन्यवाद दिए ।

सर्वोच्च अदालतमा आफूविरुद्ध परेको पछिल्लो रिट निवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा उनले कुनै प्रतिक्रिया दिएनन् । राष्ट्रपतिसँग शपथ लिएपछि नवनिर्वाचित सापकोटाले पदभार लिनेछन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपाका नेता सापकोटा सर्वसम्मतरूपमा निर्वाचित भएका हुन् । बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एक मात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरूपमा निर्वाचित भएको घोषणा गरेका थिए ।

 

सापकोटा सभामुखमा निर्वाचित भएपछि सत्तापक्ष–प्रमुख प्रतिपक्षीको प्रतिक्रिया

 

प्रतिनिधिसभाको रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित भएपछि सत्तापक्ष र प्रमुख प्रतिपक्षीबाट मिश्रित प्रतिक्रिया आएका छन् ।

 

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ

 

बैठकमा सभामुखको उम्मेदवारको सूचनासम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘पारदर्शिता र जवादेहिताका आधारमा सदनका काम कारवाहीमा जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसमा सिंगो संसद्लाई विश्वासमा लिएर काम गर्नुहुनेछ भन्ने विश्वासका साथ सापकोटालाई प्रस्ताव गरिएको हो ।’

बैठकमा उहाँको विकल्पमा अरू कुनै उम्मेदवारी नपर्नुले आफूहरुको चयन उपयुक्त रहेछ भन्ने देखिएको उनले बताए ।

 

पूर्वसभामुख ओनसरी घर्ती

 

पूर्वसभामुख ओनसरी घर्तीले भनिन्, ‘सापकोटाको एकमात्र उम्मेदवारी पर्नुले सहमतिको वातावरण बनेको छ, शान्ति प्रक्रियाका बाँकी काम तथा राष्ट्रिय मामिलाका विषयमा काम गर्न सहज हुनेछ ।’

तीन दशक लामो शैक्षिक क्षेत्रमा अनुभवका साथै जनयुद्ध र शान्ति प्रक्रियामा भूमिका निर्वाह गर्नुभएकाले सापकोटाको उम्मेदवारी उपयुक्त भएको ओनसरीले बताइन् । सांसद घर्तीले भनिन, ‘उहाँमा सांसद र मन्त्रीको समेत अनुभव छ, उहाँ राजनीतिमा इमान्दार र निष्ठावान् नेता हुनुहुन्छ । भोलिका दिनमा प्रतिनिधिसभालाई तटस्थ, सन्तुलित र जनपक्षीयरुपमा कुशल नेतृत्व दिनुहुनेछ भन्ने मेरो विश्वास छ ।’

 

डा मिनेन्द्रप्रसाद रिजाल

 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका डा मिनेन्द्रप्रसाद रिजालले सापकोटालाई सत्तारूढ दलको यथेष्ट मत रहेको र आफ्नो उम्मेदवार तोकिसकेको स्थितिमा सभामुख तटस्थ रहनुपर्ने व्यक्ति भएकाले आफ्नो पार्टीले उम्मेदवारी नदिने निर्णय संसदीय दलको बैठकले गरेको जानकारी दिए ।

आफूहरुले उपसभामुख पद पाउनका लागि सभामुखमा उम्मेदवारी नदिएको होइन भने । सांसद रिजालले भने, ‘संविधानले दुई पदमा फरक फरक पार्टीका उम्मेदवार हुनुपर्ने उल्लेख गरेकाले त्यसमा सत्तापक्षले नै विचार गर्ला तर हामी उपसभामुखका लागि हातमा कमण्डलु लिएर हिँडेका छैनौँ । सभामुखका उम्मेदवारबारे उत्पन्न आशंक मेट्न भोलिका दिनमा आश्वस्त हुने गरी काम गर्न सक्नुहोस् । हामी सहयोग गर्न तयार छौँ ।’

डा रिजालले व्यक्तिका विषयमा काँगे्रसको समर्थन र विरोध नरहेको स्पष्ट गर्दै विधिको शासन र लोकतान्त्रिक चरित्रका आधारमा जनता र संसद् सदनप्रति उत्तरदायी हुनुपर्छ भन्नेमा ध्यानाकर्षण गराए ।