नवलपुरमा फागुनको पहिलो हप्ताबाट राइनो कप फुटबल

विश्वकै दुर्लभ एकसिंगे गैडा संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले नवलपुरमा विगत १० बर्षदेखि प्रतियोगिता गरिदै आएको हो

जनसम्मत
माघ १४, २०७६, मंगलवार

नवलपुर । राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता फाल्गुनको पहिलो हप्ताबाट हुने भएको छ ।

नन्द–भाउजु उपभोक्ता समितिको आयोजनामा फागुनको ५ गतेदेखि शुरु हुने प्रतियोगिता नवलपुर जिल्लाको मध्यविन्दु–२ स्थित राइनो कप खेलमैदानमा हुनेछ । फुटबल प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराएको हो ।

नन्द–भाउजू उपभोक्ता समितिको अध्यक्ष दोमन भण्डारीले विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको टिम, सशस्त्र प्रहरीको एपीएफ टोली, आयोजक नवलपुर जिल्ला सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १२ टिमले उपाधिका लागि प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बनाए ।

प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले आकर्षक पुरस्कार पाउने बताइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न १ करोड १० लाख खर्च लाग्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसी, जिल्ला फुटबल संघका जिल्ला अध्यक्ष सेतमान पुन लगायतको सहभागिता थियो ।

विश्वकै दुर्लभ एकसिंगे गैडा संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले नवलपुरमा विगत १० बर्षदेखि प्रतियोगिता गरिदै आएको हो । कार्यक्रममा प्रचार प्रचार समितिका संयोजक विष्णु अधिकारीले समुदायकै कारण नेपालमा गैडा संरक्षण हुन सकेको बताए ।