पोखरा म्याराथन सफल बनाउन प्रहरी र यातायात व्यवसायीको प्रतिवद्धता

भूतपुर्व खेलाडी मञ्च नेपाल अध्यक्ष गुरुङले भनेकाछन् , ‘यस पटक म्याराथनमा दौडनेको संख्यामा बृद्धि हुने देखिएकाले र विदेशबाट समेत धेरैको संख्यामा पोखरा म्याराथनका लागि आउने भएकोले सबैले खेलकुद संस्कृतिलाई आत्मसात गर्नुपर्छ’

जनसम्मत
माघ १४, २०७६, मंगलवार

पोखरा । नेपाल प्रहरी र यातायात व्यवसायीहरुले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल बनाउन प्रतिबद्धता जनाएका छन् ।

आगामी फागुनको ३ गते भूतपुर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्न लागेको १४ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनलाई सफल बनाउन प्रहरी र यातायात व्यवसायीले प्रतिबद्धता जनाएको हो ।

मञ्चले पोखरा म्याराथनलाई सफल बनाउन शुरक्षा र यातयात व्यवस्थापनको विषयमा विशेष जोड दिएको मञ्चका अध्यक्ष तेज गुरुङले बताए । पोखरा म्याराथनमा विशेषगरी म्याराथन रुटमा जथाभावी यातयात संचालन हुँदा खेलाडीले निकै समस्या भोग्नुपरेको विगतको अनुभव सुनाउँदै अध्यक्ष गुरुङले यातयात र शुरक्षालाई विशेष प्राथमिकतामा राखिएको बताए ।

अध्यक्ष गुरुङले थपे, ‘यस पटक म्याराथनमा दौडनेको संख्यामा बृद्धि हुने देखिएकाले र विदेशबाट समेत धेरैको संख्यामा पोखरा म्याराथनका लागि आउने भएकोले सबैले खेलकुद संस्कृतिलाई आत्मसात गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले पोखरा म्याराथनलाई खेलकुदको बिकास र सार्वजनिक हितमा प्रयोग गर्न आम पोखरेलीसमक्ष आग्रह गरेका छन् । प्रहरी प्रमुख कार्कीले वर्षको एक दिन पोखराको प्रचारका लागि गरिएको कार्यक्रममा सबै पोखरेलीहरु ३ घन्टाको लागि सडकमा आउन आह्वान समेत गरे ।

एसपी कार्कीले भने, ‘पोखरा म्याराथन एउटा अभियान हो । पोखरामा रहेका हरेक सामाजिक संघसंस्थाहरुले आ–आफ्नो संस्थाको तर्फबाट सचेतनामुलक प्लेकार्ड सहित पोखराका हरेक चोकमा उभिएर खेलकुदसँगै सामाजिक अभियानमा जुटन सक्छन ।’

कार्यक्रममा पृथ्बी राजमार्ग बस व्यवसायी समितिका अध्यक्ष योगेन्द्र केसीले पोखरा म्याराथन सफल बनाउन पोखरेली यातयात व्यवसायीहरु प्रतिवद्ध रहेको जनाए । केसीले यसका लागि आयोजक र प्रहरीसँग मिलेर योजना बनाउने उल्लेख गरे ।

‘म्याराथन सफल बनाउन यातयात ब्यावसायीहरु प्रतिबद्ध छन् । हामी सबै यातयात व्यवसायी संघसंस्थाहरुले फागुन ३ गते कम्तिमा पनि ३ घन्टा म्याराथन रुटमा यातयातका साधनहरुलाई नचलाउन आग्रह गर्नेछौ ।’

सो अबसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्रलाल कर्ण, पोखरा महानगर पािलकाका वडा नं १३ का अध्यक्ष लेखबहादुर तामाङ, विन्ध्यबासिनी यातयात व्यवसायीका सचिब प्रमोद दवाडी, मञ्चका प्रथम उपाध्यक्ष हरि पराजुली, सचिब कृष्ण तिमिल्सिना लगायतले फागुन ३ गतेको पोखरा म्याराथन सफल बनाउन सबैसँग आग्रह गरे ।