मच्छिन्द्र ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लियो

मच्छिन्द्रको ९ खेलबाट १९ अंक भएको छ, एक खेल कम खेलेको आर्मीको १७ अंक छ, सोमबार नै भएको लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी बनेको छ

जनसम्मत
माघ १४, २०७६, मंगलवार

काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिगमा उपाधिको दावेदार टिम मच्छिन्द्र क्लव फेरी शिर्ष स्थानमा उक्लिएको छ ।

जारी लिगमा छैटौं जित निकाल्ने क्रममा मच्छिन्द्रले थ्रीस्टारलाई २–ले हराउँदै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रको जितमा रजिन सुब्बा र विशाल राईले १–१ गोल गरे । खेलको ३७ औं मिनेटमा रजिन सुब्बाले मच्छिन्द्रका लागि अग्रता दिलाए । सुजलको पासलाई थ्रीस्टारका खेलाडीले क्लियर गर्न नसक्दा रजिनले गोल गरे । उनले यो गोललाइ लेजेन्ड्री बास्केटबल खेलाडी कोबी ब्रायन्टलाई समर्पित गरे ।

यसै सिजन मनाङको सेटलाई नै अनुबन्ध गरेको मच्छिन्द्रले ४० औं मिनेटमा अर्को सुन्दर अवसर पाएको थियो । तर रेजिनको हेडरलाई थ्रीस्टारका बिक्रम लामाले गोललाइनबाट बचाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको मच्छिन्द्रले दोस्रो हाफमा थप एक गोल ग¥यो । यो सिजन स्टार खेलाडी विना नै मैदानमा उत्रिएको थ्रीस्टारको डिफेन्डरको गल्तिका कारण ९० औं मिनेटमा मच्छिन्द्रले अन्तर दोब्बर बनायो ।

मच्छिन्द्रका लागि विशाल राईले गोल गरे । जारी लिगमा थ्रीस्स्टाको यो तेस्रो हार हो । यस हारले थ्रीस्टारको उपाधि यात्रामा ठूलो धक्का लागेको छ । जितपछि मच्छिन्द्रले त्रिभुवन आर्मीलाई पछि पार्दै शिर्ष स्थानमा पुगेको हो ।

मच्छिन्द्रको ९ खेलबाट १९ अंक भएको छ । एक खेल कम खेलेको आर्मीको १७ अंक छ । थ्रीस्टारको ९ खेलबाट १४ अंक छ ।

विभागीय डर्बीमा पुलिस विजयी

त्यस्तै, सोमबार नै भएको डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबारदेखि शुरु भएको नवौँ चरणको पहिलो खेलमा पुलिस सशस्त्र प्रहरी बलकमो एपिएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो ।

पुलिसको जित कप्तान भोलानाथ सिलवाल नायक बने । उनले खेलको १३ औँ मिनेटमा गरेको एक गोल नै पुलिसको लागि निर्णायक गोल बन्यो । कप्तान भोलाले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

रवि पासवानको कर्नरमा एपीएफका राजन गुरुङले पुलिसका भरत साहलाई धकेलेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले पुलिसलाई पेनाल्टी दिएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै कप्तान भोलाले गोल गरेका थिए ।

खेलमा पुलिसका सौजन राई ‘म्यान अफ दी म्याच’ घोषित भए । जितसँगै पुलिस लिगको पाँचौं स्थानमा उक्लिएको छ । पुलिसले नौ खेलबाट १४ अंक जोडेको छ । त्यस्तै, पराजित एपीएफ ९ खेलबाट ५ अंक जोडेर अंक तालिकाको १३ औँ स्थानमा छ ।