सागमा पदक विजेता प्रहरीका खेलाडीलाई सम्मान

सागमा नेपाल प्रहरीका खेलाडीले राष्ट्रलाई १६ स्वर्ण, १४ रजत र २६ काँस्य दिलाएको थियो, दोहोरो स्वर्ण जितेका मन्डेकाजी श्रेष्ठले सर्वाधिक २ लाख हात पारे

जनसम्मत
माघ २०, २०७६, सोमबार

पोखरा । नेपाल प्रहरीले आफ्ना खेलाडीहरुलाई आइतबार नगदसहित सम्मान गरेको छ ।

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता प्रहरीका खेलाडीहरुलाई नेपाल प्रहरी संगठनले नगदसहित सम्मान गरेको नेपाल प्रहरी, खेलकुद शाखा इन्चार्ज प्रहरी निरीक्षक भरतबहादुर शाहले जानकारी दिएका छन् ।

सागमा नेपाल प्रहरीका खेलाडीले राष्ट्रलाई १६ स्वर्ण, १४ रजत र २६ काँस्य दिलाएको थियो । नेपाल प्रहरीले व्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेतालाई १ लाख २५ हजार, रजतलाई ६० हजार र काँस्यलाई ३० हजार प्रदान ग¥यो । त्यस्तै, टिममा स्वर्ण विजेतालाई ७५ हजार, रजतलाई ४० हजार र काँस्यलाई २५ हजार नगदबाट पुरस्कृत ग¥यो ।

दोहोरो स्वर्ण जितेका मन्डेकाजी श्रेष्ठले सर्वाधिक २ लाख हात पारे । उनले कराँतेको व्यक्तिगत र टिम कातामा स्वर्ण जितेका थिए । महाराजगन्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले खेलाडीलाई पुरस्कृत गरेका हुन् । सोही अवसरमा प्रशिक्षकहरुलाई पनि प्रशंसापत्र र दोसल्लाबाट सम्मान गरेको थियो ।