दोस्रो संस्करणको सृजना कप भलिबल तयारी

छात्रछात्रा भलिबल प्रतियोगितामा सामुदायिक विद्यालयका करिब ५० टिमले सहभागिता जनाउने छन्

जनसम्मत
माघ २०, २०७६, सोमबार

पोखरा । दोस्रो संस्करणको सृजना कप भलिबल प्रतियोगिता फागुनको पहिलो साताबाट हुने भएको छ ।

पोखरामा सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघले फागुनको ६ गतेदेखि प्रतियोगिता गर्न लागेको आइतबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ । केन्द्र र संघले गत वर्षदेखि कास्की जिल्ला सामुदायिक विद्यालयस्तरीय छात्ररछात्रा भलिबल प्रतियोगिता शुरु गरेको हो ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने छात्रछात्रा भलिबल प्रतियोगितामा सामुदायिक विद्यालयका करिब ५० टिमले सहभागिता जनाउने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए ।

प्रतियोगितामा छात्रछात्रा दुवैतर्फका विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । छात्रछात्रा दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान ५÷५ हजार र ट्रफी पुरस्कार पाउनेछन् । अन्य ५ विधाका उत्कृष्ट खेलाडीले समन १/१ हजार र १/१ थान भलिबल पुरस्कार पाउनेछन् ।

प्रतियोगिताबाट १० लाख ५० हजार आम्दानी हुने आयोजकको अनुमान छ । आयोजकका अनुसार भलिबल प्रतियोगिता सम्पन्न गर्न ९ लाख ५५ हजार खर्च लाग्नेछ । प्रतियोगिताबाट बचत ९५ हजार भलिबल खेलकै विकास र विस्तारमा खर्च गर्ने सृजना विकास केन्द्रका अधयक्ष मिनप्रसाद भट्टराईले बताए ।