फागुनको अन्तिम सातादेखि आहा ! रारा गोल्ड कप फुटबल प्रतियोेगिता

प्रतियोगितामा आयोजक सहारा क्लब सहित नेपालका ‘ए’ डिभिजन लिग क्लब र विदेशी टिम गरी १० टिमको सहभागिता रहने छ

जनसम्मत
माघ २०, २०७६, सोमबार

पोखरा । सहारा क्लब पोखराले १८ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोेगिता फागुनको अन्तिम साताबाट गर्ने भएको छ ।

पोखरा रंगशालामा फागुनको २२ देखि चैतको १ गतेसम्म प्रतियोगिता संचालन हुनेआयोजित पत्रकार सम्मेलनमा बताइएको छ । प्रतियोगितामा आयोजक सहारा क्लब सहित नेपालका ‘ए’ डिभिजन लिग क्लब र विदेशी टिम गरी १० टिमको सहभागिता रहने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ विगत १९ वर्षदेखि पोखरामा फुटबल तथा सामाजिक बिकासमा सहारा क्लब होमिदै आएको छ ।

सहाराले १८ औं संस्करणको प्रतियोगिताबाट अनुमानित आम्दानी १ करोड १८ लाख १ हजार रुपैयाँ र अनुमानित खर्च ९९ लाख ३८ हजार ५ सय रुपैयाँ प्रक्षेपण गरेको अध्यक्ष थापाको भनाई छ । अध्यक्ष थापाले प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गर्ने बताए । हाल एकेडेमीमा तेश्रो व्याचका १५ जिल्लाका २४ जना बालकहरु छन् ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ । हिमा–अस एजुकेशन कन्सेल्टेन्सीले प्रतियोगिताको दोश्रो पुरस्कार, पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालिले वेष्ट अफ फाइभ पुरस्कारको प्रायोजन, अफिसियल स्पोर्टस वेयर पार्टनर एक्स टेपले सर्वोत्कृष्ट खेलाडीका लागि अप्रिला स्कुटरको पुरस्कार प्रायोजन गरेको छ ।

त्यस्तै प्रायोजकहरुमा लुम्बिनी विकास बैंकले अफिसियल बैंक, रोयल इन्फिल्ड बुलेट बाइक फेयर प्ले पुरस्कार प्रायोजन, सनराइज ड्राइभिङ स्कुल प्रालिले सर्वाधिक गोलकर्ता पुरस्कार, ईको पानीले अफिसियल डिङ्किङ वाटर, बुद्ध एयरले अफिसियल एयरलाइन्स, गण्डकी मेडिकल कलेज (जिएमसी) ले अफिसियल हस्पिटल, होटल वेयन भेन्युले अफिसियल होटल पार्टनरका रुपमा प्रायोजन गरेका छन् ।

तस्बीर : सुदर्शन रञ्जित