बेलायतमा समेत पोखरा म्याराथनको चर्चा

१८ औं सस्करणको पोखरा म्याराथनको बिजेतालाई युकेमा हुने म्याराथनमा सहभागिता गराउने निर्णय गरेको छ

जनसम्मत
माघ २१, २०७६, मंगलवार

पोखरा । खेलकुदको मेघा इभेन्टका रुपमा फागुनको ३ गते हुन गइरहेको १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबारे बेलायतमा समेत चर्चा छ ।

यसले पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको माइलेज बढाउँदै लगेको छ । पोखरा म्याराथन सफल बनाउन म्याराथनको आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च युकेले बेलायतमा संयोजनको भूमिका निभाएको छ ।

पोखरेली मञ्च युकेले पोखरा म्याराथन सफल बनाउन हालैमात्र बेलायतमा पाँच घण्टा लामो एक अन्तक्रिया कार्यक्रम भएको समाचार छ । अन्तक्रिया कार्यक्रममा १८ औं सस्करणको बिजेतालाई युकेमा हुने म्याराथनमा सहभागिता गराउने निर्णय गरेको पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङले जानकारी दिएका छन् ।

अध्यक्ष गुरुङका अनुसार पोखरा म्याराथनको विजेताले आगामी अप्रिलमा बेलायतमा हुने म्याराथनमा सहभागिता गराइने भएको हो । यससँगै बेलायतबाट धावक पवन महतो र सन्तोष राईले पोखरा म्याराथनमा सहभागिता जनाउने छन् ।

कार्यक्रममा बर्नेट बोरो काउन्सिलका मेयर लक्ष्यबहादुर गुरुङ, गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङसहित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले पोखरामा हुने १८ औं संस्करणको म्याराथनलाई सफल बनाउन आग्रह गरेका थिए ।

पोखरेली मञ्चले पोखरा म्याराथनलाई संयोजन गर्न पूर्व राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङ राईलाई संयोजक तोकेको छ । पोखरा म्याराथनमा सहभागिताका लागि उनकै नेतृत्वमा बेलायतबाट एक टोली पोखरा आउने तयारी समेत भइरहेको आर्थिक सल्लाहकार कमल गुरुङ ‘धम्पुस’ ले जानकारी दिएका छन् ।

पोखरा म्याराथनलाई सफल बनाउनेसँगै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्धेश्यले उक्त अन्तक्रिया उपलब्धीमूलक रहेको गुरुङले बताए । आर्थिक सल्लाहकार गुरुङका अनुसार पोखरा म्याराथनका लागि बेलायतमा करिब ३ हजार पाउण्ड सहयोग रकम संकलन भएको बताए ।

‘पोखरेली मञ्चले गत वर्ष ७ लाख ५० हजार प्रदान गरेका थियौं,’ गुरुङले भनेका छन्, ‘सायद त्यो रकम बराबर यस वर्षमा पनि निरन्तरता दिनेछौं । हामीले पोखरा म्याराथनका विजेताका लागि लण्डनबाटै आकर्षक मेडलहरु समेत ल्याउन लागेका छौं ।’

उक्त अन्तक्रिया कार्यक्रममा सहभागीहरुले पोखरा म्याराथन लोगो अंकित टि–सर्ट, रिष्ट व्यान्डलगायतका लोगोहरु लिएर सहभागिता जनाएका थिए । खेलकुद मार्फत पर्यटन र खेलकुद बिकासका लागि पोखरेली मञ्चले गत वर्षबाट आर्थिक रकम मात्रै सहयोग गरिरहेको छैन, बेलायतबाट समेत पोखरा म्यारथनमा सहभागिता गराउन अहम भूमिका खेलिरहेको भूतपूर्र्व खेलाडी मञ्च पोखराले जनाएको छ ।