गिरिजाप्रसाद स्मृति हक्की प्रतियोगितामा प्रदेश ५, बागमती र आर्मी विजयी

पहिलो खेलमा प्रदेश ५ ले प्रदेश २ लाई ६–० ले, दोस्रो खेलमा बागमती प्रदेशले प्रदेश १ लाई २–० ले र तेस्रो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमलाई ४–० गोलले पराजित गरेको छ

जनसम्मत
माघ २१, २०७६, मंगलवार

विराटनगर । दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा प्रदेश ५, बागमती र नेपाली सेनाको टोली विजयी बनेका छन् ।

नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा प्रदेश ५ ले प्रदेश २ लाई ६–० को फराकिलो गोल अन्तरमा पराजित गरेको छ । प्रदेश ५ का लागि ‘म्यान अफ दी म्याच’ अमन कुमारले ८ र ५४ औं मिनेटमा गोल गरे । राजनकुमारले २० र ४८ औं मिनेटमा गोल थपे । त्यस्तै, मनिष गुरुङले ३४ र ३९ औं मिनेटमा गोल गर्दै टिमलाई निर्णायक जित दिलाए ।

त्यसैगरी, दोस्रो खेलमा बागमती प्रदेशले प्रदेश १ लाई २–० गोल अन्तरमा पराजित ग¥यो । बागमतीका समिर घिमिरेले ५३ औं मिनेटमा गोल गरे । त्यस्तै, ‘म्यान अफ दी म्याच’ बन्न सफल सुरज घर्तीमगरले ५८ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।

त्यस्तै, तेस्रो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमलाई ४–० गोलले पराजित गरेको छ । आर्मीका दीपेन्द्र ऐरले ३७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलमा ‘म्यान अफ दी म्याच’ बनेका रोमन रानाले ४२ र ४६ औं मिनेटमा गोल थपे । नरेन्द्र कार्कीले ५८ औं मिनेटमा गोल गर्दै टिमको जितलाई सुनिश्चित बनाए ।

प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशको सहभागिता छ । विभागीय टोली नेपाली सेना, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ ले प्रतियोगितामा प्रतिस्पर्धा गरेका छन् ।

प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रोले १५ हजार सहित ट्रफी पुरस्कार जित्नेछन् । त्यस्तै, व्यक्तिगत पुरस्कारतर्फ उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडीले समान ५/५ हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेल बागमती प्रदेश र नेपाली सेनाबीच हुनेछ । दोस्रो खेल गण्डकी प्रदेश र प्रदेश २ बीच हुनेछ । तेस्रो खेल सुदूरपश्चिम प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ ।