ढोरपाटन महिला डबल लिग भलिबलमा विभागीय एपीएफको दोहोरो जित

पहिलो खेलमा पारामाउन्टमाथि २५–५, २५–१८ र २५–६ को सहज जित निकालेको एपीएफले दोस्रो खेलमा आयोजक ढोरपाटनमाथि २५–६, २५–८ र २५–५ को सहज जित निकाल्यो

जनसम्मत
माघ २१, २०७६, मंगलवार

पोखरा । विभागीय नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लबले १५ औं संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा जित निकालेको छ ।

जारी लिगमा अपराजित एपीएफले आफ्नो पहिलो खेलमा पारामाउन्ट स्कुललाई तथा दोस्रो खेलमा आयोजक ढोरपाटन स्पोर्ट्स क्लबमाथि सहज जित निकाल्दै दोहोरो जित निकालेको हो ।

पहिलो खेलमा पारामाउन्टमाथि २५–५, २५–१८ र २५–६ को सहज जित निकालेको थियो । एपीएफले दोस्रो खेलमा आयोजक ढोरपाटनमाथि २५–६, २५–८ र २५–५ को सहज जित निकाल्यो । दोहोरो जितसँगै एपीएफले ७ खेलबाट २० अंक जोडेर शीर्षस्थानमा पकड बनाएको छ ।

दोस्रो स्थानको पुलिसको ६ खेलबाट १६ अंक रहेको छ । अपराजित रहेको पुलिसले मंगलबारै अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–१ को सेटमा जित हात पारेको थियो । पुलिसले आर्मीलाई २५–२२, २५–२१, २०–२५ र २५–२२ को सेटमा हरायो । आर्मीको ५ खेलबाट ९ अंक छ ।

यस्तै, तीन इरानी खेलाडी समेटेको चितवन टाइगर्सले शतप्रतिशत जितलाई निरन्तरता दिदाँ चुली युवा क्लबमाथि २५–९, २५–११ र २५–११ को सहज जित हात पारेको छ । चितवनको यो लगातार तेस्रो जित हो । चितवनको ३ खेलबाट ९ अंक पुगेको छ ।

यस्तै पारामाउन्टले लिगमा पहिलो जित हात पार्ने क्रममा सेवमाथि २५–२३, २५–२३ र २५–१९ को सहज जित निकालेको छ । पारामाउन्टले ८ खेलबाट ३ अंक जोडेको छ । चुलीले ७ खेलबाट र सेवले ६ खेलबाट कुनै अंक जोड्न सकेको छैन ।

न्यू–डायमन्ड स्पोट्र्स क्लब र बुलबुले रारा भलिबल क्लबबीचको खेल लाइट प्रोटेस्टका कारण स्थगित गरिएको छ । लिगमा बुधबार ५ खेल हुने आयोजकले जनाएको छ ।