ए डिभिजन लिगमा एनआरटीमाथि फ्रेण्ड्स क्लब विजयी

मंगलबार भएको खेलमा एनआरटी फ्रेन्ड्ससँग २–० गोलले पराजित बन्यो

जनसम्मत
माघ २२, २०७६, बुधबार

काठमाण्डौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपाधि दावेदार टोली एनआरटीमाथि फ्रेण्ड्स क्लबले जित निकालेको छ ।

ललितपुरको एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा एनआरटी फ्रेन्ड्ससँग २–० गोलले पराजित बन्यो ।

फ्रेण्ड्सले दुवै गोल दोस्रो हाफमा गरेको थियो । फ्रेन्ड्का लागि पहिलो गोल सञ्जोग राईले ७८ औं मिनेटमा सुरुवाती गोल गरेको थियो । त्यसको तीन मिनेट बित्न नपाउँदै फ्रेण्ड्समा अनुबन्धित ब्राजिलियन वागनर डे कार्मोले ८१ औं मिनेटमा निर्णायक दोस्रो गोल गरे । फ्रेन्ड्सले दुवै गोल एनआरटीको रक्षाप्रक्तिको कमजोरीमा गरेको थियो । एनआरटीको गोल प्रयासलाई भने फ्रेन्ड्सको रक्षकले विफल पारेका थिए ।

फ्रेन्ड्का रक्षक असिम भुषाल ‘म्यान अफ दी म्याच’ बने । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै ११ खेलबाट १४ अंक बनाएको फ्रेन्ड्स नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट १५ अंक बनाएको एनआरटी सातौं स्थानमा छ । एनआरटी र फ्रेन्ड्सको खेलसँग लिगको १० औं चरण सकिएको छ ।

लिगको १० औं चरणपछि शीर्ष स्थानमा रहेको आर्मीको २३ अंक छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्रले २२ अंक बनाएको छ । मनाङ मस्र्याङ्दीको १९ अंक सहित तेस्रो स्थानमा छ । आर्मी मच्छिन्द्र र मनाङ मस्र्याङ्दीबीच उपाधि भिडन्त हुने संभावना बढ्दो छ ।