फागुनको अन्तिम सातादेखि भरतपुर गोल्डकप फुटबल

चितवन जिल्लाकै सवार्धिक पुरस्कार राशी भएको गोल्डकप विजेताले १० लाख सहित ट्रफी पाउनेछ, गोल्डकपको विजेता पुरस्कार राशी गत संस्करणको भन्दा ४ लाखले बढि हो

जनसम्मत
माघ २२, २०७६, बुधबार

चितवन । जिल्लाको सर्वाधिक पुरस्कार राशीको भरतपुर गोल्डकप आगामी फागुनको २४ गतेदेखि शुरु हुने भएको छ ।

एजे इन्टरनेशनलको आयोजनामा दोश्रो संस्करणको रुपमा फागुन २४ गतेदेखि चैतको ३ गतेसम्म गोल्डकप हुन लागेको हो ।

चितवन जिल्लाकै सवार्धिक पुरस्कार राशी भएको गोल्डकप विजेताले १० लाख सहित ट्रफी पाउनेछ । उपविजेताले ५ लाख सहित ट्रफी पाउने पत्रकार सम्मेलनमार्फत एजे इन्टरनेशनलले जानकारी गराएको छ ।

गोल्डकपको विजेता पुरस्कार राशी गत संस्करणको भन्दा ४ लाखले बढि रहेको एजे इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत एवं गोल्डकपका संयोजक आलोकप्रताप राणाले जानकारी दिएका छन् । राणाका अनुसार उपविजेता पुरस्कार राशीलाई पहिलो संस्करणको भन्दा ३ लाखले बृद्धि गरिएको हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार पुरस्कार पाउने आयोजकले बताएको छ । प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ बन्न सफल खेलाडीले २० हजार पुरस्कार पाउनेछन् । त्यस्तै, विधागत उत्कृष्ठ गोलकीपर, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकर घोषित खेलाडीले समेत समान २०/२० हजार पाउनेछन् ।

प्रतियोगितामा ६ वटा ‘ए’ डिभिजन क्लवसहित ४ वटा जिल्लाका उत्कृष्ट फुटबल क्लवहरु गरी १० टिमको सहभागिता रहनेछ । यद्यपी, ‘ए’ डिभिजनका ६ वटा क्लव सहभागी हुने बताइएपनि क्लवको टुंगो भने लागेको छैन् । हाल सहिद स्मारक ‘ए’ डिभिजन लिग जारी रहेकाले क्लवको टुंगो लाग्न बाँकी रहेको संयोजक राणाले प्रष्ट पारे ।

चितवनको भरतपुरस्थित क्याम्पाचौरको खेल मैदानमा हुने प्रतियोगितामा बिभागीय नेपाल आर्मी, नेपाल पुलिस, थ्रीस्टार, संकटालगायतका टिम सहभागी हुन सक्ने संभावना रहेको राणाले सहभागी क्लबको उल्लेख गरे ।

गोल्डकप हेर्नका लागि २०० जनाको भीआइपी प्याराफिट र ३ हजार क्षमताको सर्वसाधारणका लागि प्याराफिट निर्माण गरिने चितवन फुटवल क्लवका अध्यक्ष श्रीकृष्ण कार्कीले बताए ।