नेपाली महिला भलिबल टोली विश्व वरीयताको ८७ औं स्थानमा

अन्तरराष्ट्रिय भलिबल महासघ (एफआइभीबी) सार्वजनिक गरेको विश्व वरियतामा नेपाल ८७ औँ स्थानमा छ, नेपालको महिला भलिबल टोलीले ५७ अंक पाएको छ

जनसम्मत
माघ २३, २०७६, बिहीवार

पोखरा । नेपाली महिला भलिबल टोली एफआइभीबीको विश्व वरीयतामा शीर्ष सयभित्रको स्थानमा परेको छ ।

अन्तरराष्ट्रिय भलिबल महासघ (एफआइभीबी) सार्वजनिक गरेको विश्व वरियतामा नेपाल ८७ औँ स्थानमा छ ।

नेपालको महिला भलिबल टोलीले ५७ अंक पाएको छ । एफआइभीबीले अन्तरराष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरीयता निर्धारण गर्दै आएको छ ।

त्यस्तै नेपाली महिला भलिबल टोलीले बंलादेशमा यसै वर्ष सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि जितेको थियो । त्यसपछि, घरेलु भुमी नेपालमै आयोजना गरिएको १३ औं दक्षिण एशियाली खेलकूद (साग) मा नेपाली महिला टोलीले ऐतिहासिक रजत पदक जितेको थियो ।

त्यसैगरी, वरीयताको क्रममा भारत ९७ अंकसहित ५४ औँ स्थानमा छ । विश्व वरीयताको शीर्ष स्थान चीनले ओगटेको छ । चीनले ३९१ अंक जोड्दै शीर्ष स्थान ओगटेको हो । ३८२ अंकसहित अमेरिका दोस्रो स्थानमा छ ।

ब्राजिलले ३२८ अंक जोड्दै तेस्रो स्थान ओगटेको छ । त्यस्तै, विश्व वरीयतामा इटाली चौथो, टर्की पाँचौँ, सर्विया छैटौँ, जापान सातौँ, रसिया आठौँ, डोमिनिक गणतन्त्र नवौँ र दक्षिण कोरिया दशौँ स्थानमा छन् ।