राष्ट्रिय हक्की प्रतियोगिता सेमिफाइनल समिकरण पूरा

पहिलो चरणका खेल सम्पन्न भएसँगै विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी, सुदूरपश्चिम र प्रदेश ५ को टोलीले प्रतियोेगिताको सेमिफाइनलमा स्थान बनाएका छन्

जनसम्मत
माघ २३, २०७६, बिहीवार

पोखरा । दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गतसेमिफाइनल समिकरण पूरा भएको छ ।

पहिलो चरणका खेल सम्पन्न भएसँगै विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी, सुदूरपश्चिम र प्रदेश ५ को टोलीले प्रतियोेगिताको सेमिफाइनलमा स्थान बनाएका छन् ।

नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेलमा विभागीय टोली नेपाली बागमति प्रदेशलाई ३–० गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

उक्त खेलमा सेनाका रोमन रानाको ह्याट्रिक गोल गरे । रोमनले खेलको १२, ३८ र ५४ औं मिनेटमा ह्याट्रिक पूरा गरे । खेलको म्यान ‘अफ दी म्याच’ पनि रोमन राना घोषित भए ।

प्र्रतियोगिता अन्तर्गत पहिलो चरणको दोस्रो खेलमा गण्डकी प्रदेशले प्रदेश २ माथि ६–० को फराकिलो गोल अन्तरमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो । गण्डकीका लागि सुमितकुमार कामीले ४ गोल गरे । खेलको २९ औं मिनेटमा सागर आचार्यको गोलबाट अग्रता लिएको थियो । त्यसपछि, सुमितले ३८, ४०, ५० र ५७ औं मिनेटमा लगातार ४ गोल गरे । खेलको ‘म्यान अफ दी म्याच’ पनि सुमित घोषित भए ।

त्यस्तै, तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ माथि ५–१ गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । खेलको १० औं मिनेटमा प्रदेश १ का अनिष मगरले गोल गर्दै टोलीलाई अग्रता दिलाए । सुदूरपश्चिमका कान्तुराम पनेरुले २८ औं मिनेटमा गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए । दीपकराज जोशीले ३६ औं मिनेटमा गोल गरे । केशवराज जोशीले ४८ औं मिनेटमा गोल गरे । खेलको ि‘म्यान अफ दी म्याच’ बन्न सफल अमितले ४९ र ५५ औं मिनेटमा दुई गोल गरे ।

प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशले प्रतिस्पर्धा गरेको छ । विभागीय टोली नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ ले प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो ।

प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रोले १५ हजार सहित ट्रफी पुरस्कार जित्नेछन् । त्यस्तै, व्यक्तिगत पुरस्कारतर्फ उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडीले समान ५/५ हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगिताअन्तर्गत बिहीबार नेपाल आर्मी र प्रदेश ५ बीच पहिलो सेमिफाइनल खेल हुनेछ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच दोस्रो सेमिफाइनल खेल प्रतिस्पर्धा हुनेछ ।