एक दिवसीय क्रिकेट लिग–२ मा ओमानसँग नेपालको हार

ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनमा अल आउट बन्यो

जनसम्मत
माघ २३, २०७६, बिहीवार

पोखरा । आइसीसी विश्वकप लि–२, को एक दिवसीय क्रिकेटमा ओमानविरुद्धको खेलमा नेपाल १८ रनले पराजित बनेको छ ।

एक दिवसीय क्रिकेटमा ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १७९ रनमा अल आउट बन्यो ।

नेपालका लागि शरद भेषावकरले अर्धशतकीय पारी खेले । दीपेन्द्रसिंह ऐरीले ३६ रनको योगदान दिए । लेगस्पिनर सन्दीप लामिछानेले २८ रन जोडे । विकेट कीपर विनोद भण्डारीले २६ रनको योगदान दिए ।

टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई नेपालले शुरुमै गुमायो । त्यसपछि, तेस्रो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । चौथो विकेटको रुपमा आरिफ शेख र पाँचौँ विकेटको रुपमा रोहितकुमार पौडेल आउट बने ।

नेपालका लागि छैटौँ विकेटकीपरका रुपमा विनोद भण्डारी पेभेलियन फर्किए । लगत्तै सातौँ विकेटको रुपमा करण केसी र आठौँ विकेटको रुपमा शरद भेषावकर आउट बने । नवौँ विकेटको रुपमा सन्दीप लामिछाने आउट भए । अन्तिम विकेटको रुपमा अविनाश बोहोरा पेभेलियन फर्किए ।

नेपालका लागि पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल ओपनिङ गर्न आएका थिए । टिमको स्कोर ४ रन हुँदा नेपालका कप्तान ज्ञानेन्द्र व्यक्तिगत १ रन बनाएर आउट बनेका थिए । ओमानको तर्फबाट १२ बल फेस गरेका मल्लले १ रन मात्रै बनाउन सफल भए ।

चार रनकै स्कोरमा दोस्रो विकेट पनि नेपालले गुमाएको थियो । दोस्रो विकेटकीपर पारसर खड्काले ३ रन मात्रै बनाएर आउट बने । पारसले १४ बलमा ३ रन बनाएका हुन् ।

दीपेन्द्र र शरद मिलेर नेपालको स्कोर अघि बढाएका थिए । २० दशमलव ३ ओभरमा ६६ रन बनाउँदा दीपेन्द्र आउट भएका थिए । दीपेन्द्रले व्यक्तिगत ३६ रन बनाएर पेभेलियन फर्किएका हुन् । दीपेन्द्रले ५७ बलमा ५ चौका र १ छक्का प्रहार गर्न सफल भएका थिए । दीपेन्द्र आउट बनेपछि क्रिजमा आएका आरिफ शेखपनि धेरै बेर टिक्न असफ लबने ।

आरिफले ६ रन बनाएर आउट बन्दा नेपालको स्कोर ७३ रन पुगेको थियो । पाँचौँ विकेटको रुपमा नेपालले रोहित पौडेललाई गुमायो । पौडेलले खाता नै नखोली पेभेलियन फर्किए । नेपालका लागि शरद र विनोद भण्डारीले स्कोर अघि बढाउँदै १०० रन कटाएका थिए । तर, ३३ दशमलव १ ओभरमा नेपालले १६६ रनको स्कोरमा नेपालका सेट भइसकेका ब्याट्सम्यान विनोद आउट हुन पुगे । उनी व्यक्तिगत २६ रन बनाएर आउट हुन पुगे ।

विनोदले २५ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए । क्रिजमा आएका करण केसी खाता नै नखोली आउट बनेपछि नेपालले १२४ रन बनाउँदा सातौँ विकेट गुमायो । शरदले ३८ औँ ओभरमा अर्धशतक पूरा गरेका थिए । शरद भेषावकरले ५५ रन बनाउँदै आउट बनेपछि नेपालले आठौँ विकेट गुमायो । शरदले १०८ बल खेल्दै ५५ रन बनाउन सफल भए ।

नवौँ विकेटको रुपमा सन्दीप लामिछाने आउट हुन पुगे । सन्दीपले २७ बलमा २८ रन बनाउँदै आउट भएका थिए । सन्दीपले १ छक्का र ३ चौका प्रहार गरेका थिए । अन्तिम विकेटकीपर अविनाश बोहोरा आउट बन्दा नेपालले १७९ रन मात्रै जोडेको थियो ।

यस खेलबाट तीव्र गतिका बलर अभिनाश बोहरा र स्पिनर सुशन भारीले डेब्यू गरेका छन् । एकदिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल, ओमान र अमेरिकाले खेल्न लागेका हुन् । आइसीसीबाट चार वर्षका लागि एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो एकदिवसीय सिरिज खेल्ने भएको हो ।

नेपालले यसअघि विदेशी भूमिमा ६ वटा एकदिवसीय क्रिकेट प्रतियोगिता खेलेको थियो । घरेलु मैदानमा भने नेपालले पहिलो पटक खेल्दैछ । एकदिवसीय मान्यता पाएपछि पहिलो सिरिज घरेलु मैदानमा हुन लागेको हो ।