ढोरपाटन महिला डबल लिगमा पुलिस र न्यू–डायमण्डको जित

पुलिसले चितवनमाथि २५–१५, २५–१४ र २५–१४ को सहज जित निकाल्यो, यू डायमन्डले चितवनमाथि नै २५–१५, २५–१७ र २५–१९ को सोझो सेटमा ३–० को जित निकाल्यो

जनसम्मत
माघ २४, २०७६, शुक्रबार

काठमाण्डौं । विभागीय नेपाल पुलिस क्लब र न्यू–डायमन्ड स्पोर्टस् क्लबले १५ औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको पहिलो लेगमा जित निकालेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा पुलिसले तीन इरानी खेलाडी सम्मिलित चितवन टाइग्रेसमाथि ३–० को सोझो सेटमा पराजित गरेको हो ।

एकपक्षीय खेलमा पुलिसले चितवनमाथि २५–१५, २५–१४ र २५–१४ को सहज जित निकाल्यो । पुलिसको यो सातौ जित हो । जितसँगै पुलिसले शीर्षस्थानको नेपाल एपीएफ क्लबसँगको अंक दुरी १ मा झारेको छ । शीर्षस्थानको एपीएफको २३ तथा पुलिसको २२ अंक छ ।

यू डायमन्डले चितवनमाथि नै ३–० को सोझो सेटमा जित निकाल्यो । एकपक्षीय खेलमा डायमन्ड २५–१५, २५–१७ र २५–१९ को सेटमा विजयी बन्यो । जितसँगै न्यू–डायमन्ड ७ खेलबाट १५ अंक जोडेर चौथो स्थानमा छ । बिहीबार दोहोरो हार बेहोरेको चितवन ७ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा छ । अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुली युवा क्लबमाथि २५–१३, २५–१२ र २५–१० को सहज जित निकालेको छ । आर्मी १८ अंकसहित तेस्रो स्थानमा छ ।

चुलीले लिगमा पहिलो जित हात पार्ने क्रममा सामाखुशी इंग्लिस स्कुल (सेव) माथि ३–२ को रोमाञ्चक जित निकालेको छ । चुलीले सेवमाथि २५–७, २०–२५, २५–११, १७–२५ र १५–६ को जित निकाल्यो । यससँगै चुलीले २ र सेवले १ अंक जोडेको छ ।

अर्काे खेलमा बुलबुले रारा भलिबल क्लब (बीआरसी) ले आयोजक ढोरपाटनमाथि २५–१७, २५–९ र २५–१९ को सहज जित निकाल्यो । बीआरसीले १४ अंक जोडेर पाँचौ तथा सेव र ढोरपाटनले ९ अंक जोडेर साँतौ स्थानमा छ ।