एक दिवसीय क्रिकेट लिग–२ मा ओमानको लगातार दोस्रो जित

त्रिवि क्रिकेट मैदानमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै ओमानले लगातार दोस्रो जित दर्ता गरेको हो, अमेरिकाले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको ओमानले ४९ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो

जनसम्मत
माघ २४, २०७६, शुक्रबार

पोखरा । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमानले लगातार दोस्रो जित निकालेको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै ओमानले लगातार दोस्रो जित दर्ता गरेको हो । अमेरिकाले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको ओमानले ४९ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो ।

ओमानका लागि अकिब इलियसले सर्वाधिक ७२ रनको योगदान गरे । मोहमद नदीमले अविजित ५५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, खवर अलिले ३१ रन जोडे । सुरज कुमारले ३० रन बनाए । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा अलआउट बन्दै २ सय १३ रन बनाएको थियो ।

अमेरिकाका लागि इयन होल्याण्डले ६५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, अक्षय होमराजले ४४ रनको योगदान गरे । मोनाक पटेलले १९ जोडे । कप्तान सौरभ नेत्राभाल्करले अविजित १४ रन थपे । यता, ओमानका मोहमद नदीमले ३ विकेट लिए । त्यस्तै इकाब इलास, बिलाल खान र जिसन मक्सुदले समान २/२ विकेट लिए ।

यसअघि, ओमानले नेपाललाई १८ रनले पराजित गरेको थियो । लिग–२ को सिरिज अन्तर्गत शनिबार सिरिजअन्र्तगत नेपाल र अमेरिकाबीच खेल हुनेछ ।