विभागीय आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमै फर्कियो

अर्को विभागिय टोली नेपाल एपीएफ क्लबलाई बिहीबार २–१ ले हराउँदै आर्मी पुनः शीर्षस्थानमा फर्केको हो, सरस्वती युथ क्लबलाई ६–१ ले हराउँदै मच्छिन्द्र केही समयका लागि शीर्षस्थानमा उक्लेको थियो

जनसम्मत
माघ २४, २०७६, शुक्रबार

काठमाण्डौं । विभागीय त्रिभुवन आर्मी क्लब अर्को जित रच्दै पुनः सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा फर्किएको छ ।

अर्को विभागिय टोली नेपाल एपीएफ क्लबलाई बिहीबार २–१ ले हराउँदै आर्मी पुनः शीर्षस्थानमा फर्केको हो ।

बिहीबार नै भएको पहिलो खेलमा रेलिगेसन दबाबमा रहेको सरस्वती युथ क्लबलाई ६–१ ले हराउँदै मच्छिन्द्र केही समयका लागि शीर्षस्थानमा उक्लेको थियो । जारी लिगको अन्तिम २ चरणका खेल बाँकी रहँदा आर्मी र मच्छिन्द्रबीच १ अंकको अन्तर छ ।

जारी लिगको १२ औं चरणको खेलमा पनि दुवै टोलीले जित निकालेमा यी दुई टोलीबीचको अन्तिम खेलले लिग उपाधिको छिनोफाने गर्नेछ । आर्मीको २६ र मच्छिन्द्रको २५ अंक छ । एक खेल कम खेलेको तेस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लबको १९ अंक छ ।

सातदोबाटोस्थिन एन्फा कम्प्लेक्स पहिलो हाफमा लिएको अग्रतालाई जोगाउँदै आर्मीले जित हासिल गरेको हो । आर्मीको जितमा फेरि एकपटक मिडफिल्डर सन्तोष तामाङ नायक बने । सन्तोषले १७ औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

सन्तोषले पेनाल्टी रिवाउन्डमा गोल गरेका थिए । कप्तान भरत खवासलाई रमेश दंगालले पेनाल्टी बक्समा लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । सन्तोषले गरेको पेनाल्टी प्रहारलाई एपीएफका गोलरक्षक राजु योगीले रोकेपनि रिवाउन्डमा गोल गर्न सफल भए ।

खेलको ३७ औं मिनेटमा आशिष लामाको गोलबाट एपीएफले खेलमा बराबरी गरेको थियो । आकाश बुढामगरको कर्नरमा आशिषले हेडमार्फत गोल गर्न सफल भएका थिए । खेलको ‘म्यान अफ दी म्याच’ बन्न सफल सन्तोषले ४२ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे । उनले फ्रीकिकमार्फत दर्शनीय गोल गर्दै आर्मीलाई पुनः अग्रता दिलाएका थिए ।

गोलरक्षक राजुले पेनाल्टी बक्सबाहिर ह्यान्ड गरेपछि आर्मीले फ्रीकिक पाएको थियो । जसलाई सन्तोषले सहजै सदुपयोग गरे । त्यही अग्रतालाई जोगाउँदै आर्मीले महत्वपूर्ण जित हासिल गरेको छ ।

मच्छिन्द्र दोस्रो स्थानमै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा लिगको उपाधि होडमा रहेको मच्छिन्द्र फुटबल क्लब शीर्ष दोस्रो स्थानमा कायम छ ।

लिग अन्तर्गत ११ औं चरणको खेलमा मच्छिन्द्रले सरस्वती युथ क्लबलाई पराजित गरेर बिहीबार केही समयका लागि लिगको शीर्ष स्थानमा उक्लेको थियो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्समा बिहीबार भएको पहिलो खेलमा सरस्वतीलाई ६–१ गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिन सफल बनेको थियो । बिहीबार नै भएको दोस्रो खेलमा विभागीय आर्मीले अर्को विभागीय सशस्त्रको एपीएफमाथि जित निकालेपछि आर्मी पुनः शीर्ष स्थानमा उक्लिएको थियो ।

मच्छिन्द्रको जितमा मच्छिन्द्रका देवेन्द्र तामाङ, रञ्जित धिमाल, दीपक राई, बिशाल राई (ए), सोमिद ओलुवावुनमी एडिलाजा आन्द्रेसले गोल गरे । दीपक राईले मच्छिन्द्रका लागि दुई गोल गरे । खेलको ‘म्यान अफ दी म्याच’ बन्न सफल दीपकले टोलीका लागि ५४ औं र ७७ औं मिनेटमा गोल गरे ।

मच्छिन्द्रका लागिे देवेन्द्र तामाङले शुरुवाती अग्रता दिलाएका थिए । उनले ४० औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई शुरुवाती अग्रता दिलाए । रञ्जित धिमालको क्रस बलमा देवेन्द्रले हेड गोल गरेका थिए । त्यसपछि, ५४ औं मिनेटमा दीपक रार्ईले ब्यक्तिगत पहिलो गोल गर्दै मच्छिन्द्रलाई दोब्बर अग्रता दिलाए । त्यसको ५ मिनेट बित्न नपाउँदै मच्छिन्द्रका बिशाल राई (ए) ले गोल गर्दै मच्छिन्द्रलाई फरक गोल अन्तरले अग्रता दिलाए । बिशालले ५९ औं मिनेटमा गोल गरेका थिए ।

त्यसपछि खेलको ७७ औँ मिनेटमा दीपक राईले व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा मच्छिन्द्रले २ गोल जोड्यो । मच्छिन्द्रका सोमिद ओलुवावुनमी एडिलाजा र आन्द्रेस नियाले १/१ गोल गरे । त्यस्तै, खेलको ८७ औँ मिनेटमा सरस्वतीका कजिम बुसारीले पेनाल्टीमार्फत एक मात्र शान्त्वना गोल फर्काए । यससँगै ११ खेल खेलेको मच्छिन्द्रले २५ अंक जोड्दै लिगको शीर्ष दोस्रो स्थानमा छ । जारी लिगमा ११ खेल खेलेको सरस्वतीको ४ अंक छ ।