गण्डकी र प्रदेश ५ राष्ट्रिय हक्की प्रतियोगिताको फाइनलमा

पहिलो सेमिफाइनल खेलमा प्रदेश ५ ले विभागीय टोली नेपाल आर्मीलाई टाइब्रेकरमा ४–३ ले र दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५–० को फराकिलो गोलप्रतियोगिताको फाइनल प्रवेश गरेका हुन्

जनसम्मत
माघ २४, २०७६, शुक्रबार

पोखरा । गण्डकी प्रदेश र प्रदेश ५ विराटनगरमा जारी दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् ।

नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिता अन्तर्गत बिहीबार भएको सेमिफाइनलमा दुबै टिमले खेल जित्दै फाइनलमा स्थान बनाएका हुन् । उपाधि जितका लागि शुक्रबार गण्डकी प्रदेश र प्रदेश ५ बीच फाइनल प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा प्रदेश ५ ले विभागीय टोली नेपाल आर्मीलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । खेलको निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । खेलको निर्धारित समयमा आर्मीले केही राम्रो गोलको अवसर चुकाउँदा हार व्यहोर्नु प¥यो ।

टाइब्रेरमा प्रदेश ५ का सानु लामा, मनिष गुरुङ, रोहित लामा र शशी दरलामीले गोल गरेका थिए । मोहम्मद सिद्धिकको टाइब्रेकरलाई गोलरक्षकले बचाउ गरे । त्यस्तै, आर्मीका प्रदीप राजवंशी, देवसिंह धामी र रोशन चौधरीले मात्रै टाइब्रेकरमा गोल गर्न सफल भए । रोमन राना र दीपेन्द्र ऐरको बल गोलरक्षकले उत्कृष्ट बचाउ गरे । प्रदेश ५ का कार्तिक गुरुङ खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।

त्यसैगरी, दोस्रो खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५–० को फराकिलो गोलअन्तरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । गण्डकीको जितमा सुमितकुमार कामीले ह्याट्रिक गरे । खेलको १३ औं मिनेटमा पिताम्बार थापाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । सुमितकुमारले खेलको २२, ३१ र ५२ औं मिनेटमा ह्याट्रि पूरा गरे । राजन नेपालीले ४३ औं मिनेटमा टोलीका लागि अन्तिम गोल गरे । गण्डकीका गणेश ठगुन्न खेलको ‘म्यान अफ दी म्याच’ बने ।

शुक्रबार पहिलो खेल तेस्रो स्थानका लागि नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशको सहभागिता रहेको छ । विभागीय टोली नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ को प्रतियोगितामा प्रतिस्पर्धा थियो ।

प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रोले १५ हजार सहित ट्रफी जित्नेछन् । त्यस्तै, व्यक्तिगत पुरस्कारतर्फ उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडीले समान ५÷५ हजार पाउनेछन् ।