पोखरामा आइटीएफ जुनियर यु–१८ सर्किट–१ को टेनिस तयारी

प्रतियोगितामा महिलातर्फ ३२ र पुरुषतर्फ ३२ गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्, नेपालबाट महिलातर्फ ६ र पुरुष तर्फ ६ गरी १२ खेलाडीले सहभागिता जनाउनेछन्, पोखराबाट यु–१६ का खेलाडीहरु नेहालजंग थापा, सौगात बि.क. र श्रेया भट्टराईले प्रतिस्पर्धा गर्नेछन्

जनसम्मत
माघ २४, २०७६, शुक्रबार

पोखरा । पोखरामा आइटीएफ जुनियर यु–१८ सर्किट–१ प्रतियोगिता हुने भएको छ ।

ईन्टरनेशनल टेनिस फेडरेशन (आइटीएफ) को संयोजन र कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा भोली (शनिबार)देखि प्रतियोगिता हुने भएको हो । यद्यपी, प्रतियोगिताको औपचारिक उद्घाटन भने सोमबार हुनेछ । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतियोगितामा महिलातर्फ ३२ र पुरुषतर्फ ३२ गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल लगायत भारत, सर्विया, अमेरिका, अष्ट्रेलिया, जापान, मलेसिया, कोरिया, सिंगापुर, जर्मन, क्यानडा लगायत १९ देशका खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

आइटीएफले ग्राण्डस्लामका लागि अंक जोड्ने खेलाडीका लागि प्रतियोगिता हुन लागेको संयोजक सूर्य भुजेलले बताए । भुजेलका अनुसार गत वर्षका विजेता जापानीज गेनी लगायत रोनाल्ड ग्यारोसले यस प्रतियोगितमा अंकका लागि खेल्दैछन् । गत वर्ष आइटीएफ जुनियर ¥याङकिङ टेनिस सर्किट १ र २ पोखरामै आयोजना गरिएको थियो ।

‘टेनिसमा व्यवसायिक खेलाडी बन्ने पहिलो खुडकिलोको रुपमा यस प्रतियोगिता बन्नेछ । जहाँबाट खेलाडीले अंक प्राप्त गर्ने छन् । प्राप्त गरेको अंककै आधारमा उनीहरुलाई ग्राण्डस्लाम खेल्ने अवसर सृजना हुनेछ ।’

नेपालबाट महिलातर्फ ६ र पुरुष तर्फ ६ गरी १२ खेलाडीले सहभागिता जनाउनेछन् । पोखराबाट २ पुरुष र १ महिलाको तर्फबाट प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा पोखराबाट यु–१६ का खेलाडीहरु नेहालजंग थापा, सौगात बि.क. र श्रेया भट्टराईले प्रतिस्पर्धा गर्र्दैछ न् ।

‘नेपालमा टेनिसको त्यति प्रचलित नभएपनि हाल विश्वका नयाँ पुस्तामा यसले बिस्तारै स्थान पाउँदैछ,’ टेनिस संघका सल्लाहकार समेत रहेका भुजेलले भने, ‘विश्वमा धेरै टुर्नामेन्ट हुने र सर्वाधिक पुरस्कार राशी रहेको खेल टेनिस नै हो । टेनिस खेलप्रति युवा पुस्तामा आकर्षण बढ्दो छ ।’

कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले आइटीएफको संयोजनमा हुने यस प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको जनाए । संघले टेनिस कोर्टको सरसफाई लगायत संपूर्ण व्यवस्थापन पूरा गरेको लामाको दाबी छ ।

‘शनिबारदेखि शनिबारसम्म प्रतियोगिता चल्नेछ,’ उनले भने, ‘संघले टेनिस कोर्टको व्यवस्थापनदेखि टेनिस बल उपलब्ध र खेलाडीको आवासका लागि व्यवस्थापन गर्नेछ । शुक्रबारसम्म प्रतियोगितामा सहभागिता जनाउन २ सय ५० जना भन्दा बढि खेलाडी, प्रशिक्षक र अफिसियलहरु पोखरा आइपुग्नेछन् ।’

प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद र पर्यटन बोर्ड पोखरा, नेपाल भ्रमण वर्ष–२०२० को सहयोग रहेको छ ।