पोखरा म्याराथनमा वडा ५ ले समेत सक्रिय सहयोग र सहभागिता जनाउँदै

भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुनको ३ गते आयोजना हुने १४ औं संस्करणको म्याराथनलाई सफल पार्न सक्रिय सहभागिता र सहयोग रहने वडाले प्रतिबद्धता जनाएको छ

जनसम्मत
माघ २४, २०७६, शुक्रबार

पोखरा । पोखरा म्याराथनलाई सफल बनाउन पोखरा महानगरपालिका वडा नं ५ ले पूर्र्ण रुपमा सहयोग र सक्रिय सहभागिता जनाउने भएको छ ।

भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुनको ३ गते आयोजना हुने १४ औं संस्करणको म्याराथनलाई सफल पार्न सक्रिय सहभागिता र सहयोग रहने वडाले प्रतिबद्धता जनाएको छ ।

पोखरा म्याराथनलाई सफल पार्न सक्रिय सहभागिताका लागि उक्त दिन वडाभित्रका टोलविकास संस्था, सामाजिक संघसंस्था, स्थानीय आमा समूह र क्लबलाई परिचालन गरिने वडाध्यक्ष धनबहादुर नेपालीले बताए । वडाभित्र पर्ने रुटका दायाँवायाँ जलको कलश र घडासहित वडावासीले म्याराथन धावकलाई स्वागत गर्ने वडाध्यक्ष नेपालीको प्रतिबद्धता थियो ।

‘पोखरा म्याराथन, पोखरा र पोखरेलीकै लागि इज्जत र प्रतिष्ठा हो,’ वडाध्यक्ष नेपालीले थपे, ‘अन्तराष्ट्रियस्तरका धावकहरु पोखरामा दौडदा यहाँको प्राकृतिक विविधता देख्नेछन् । यहाँको नागरिकहरुको आतिथ्यतासहितको संस्कृति देख्नेछन् । म्याराथनले पोखराको पर्यटनमा समेत सहयोग पुग्नेछ । खेलकुदको माध्यममार्फत यहाँको आम्दानीमा बृद्धि हुनेछ ।’

वडाध्यक्ष नेपालीले वडा नं ५ को म्याराथन रुटमा सरसफाई समेत गरिने प्रतिबद्धता जनाए । म्याराथन दौड भूतपूर्व खेलाडी मञ्चको मात्रै नभएर आम पोखरेलीको आयोजना रहेको उनको भनाई थियो ।

उनले भने, ‘म्याराथनलाई हामी सबै पोखरेलीको सहयोग हुनुपर्छ । हामी, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि छौं । पोखरामा हुने यस्ता गतिविधिले कति सफलता पाउँछ भन्ने कुराको मापन हाम्रो सहभागिताले पनि देखाउँछ । त्यस दिन संपूर्ण वडावासीहरु म्याराथनका लागि सक्रिय सहभागिता जनाइदिनुहोस ।’

वडा नं ५ का वडा सदस्य उज्वल केसीले म्याराथनको दिनमा पोखरा महानगरपालिका वडा नं ५ को सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए । केसीले भने, ‘शिक्षा, स्वास्थ्य र कृषि पोखरा–५ को मूल लक्ष्य हो । म्याराथनको दिन सक्रिय सहभागितामार्फत पोखरा वडा नं ५ को पहिचान दिनेछौं ।’

म्याराथनलाई सफल बनाउन आयोजक भूतपूर्र्व खेलाडी मञ्चले आयोजना गरेको अन्त्ररक्रिया कार्यक्रममा महिला वडा सदस्य अञ्जु केसी, समाजसेवी, स्थानीय टोलविकास संस्था, आमा समूह, क्लब र सामाजिक संघसंस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।

कार्यक्रममा भूतपूर्व खेलाडी मञ्चका प्रथम उपाध्यक्ष हरिप्रसाद पराजुली, मञ्चका संघसंस्था संयोजक तिलक केसी लगायतले पोखरा म्याराथनबारे प्रकाश पारेका थिए ।

पोखरा म्याराथन ४२.१९५ किमीको हुनेछ । पोखरा म्याराथनसँगै महिला तथा पुरुषको १० किमीको दौड, विद्यालयका छात्रछात्रा ५ किमी दौड र महिला तथा पुरुषको ह्वीलचियर र दृष्टिबिहीन दौड समेत आयोजना हुनेछन् ।

पोखरालाई म्याराथन शहरको रुपमा विश्वमा परिचित गराउन र विदेशी धावकहरुलाई आकर्षित गर्न पुरुस्कारको राशीमा समेत वृद्धि गरिएको छ । जसमा यस पटक ४२.१९५ किमिको पोखरा म्याराथन विजेताले २ लाख पुरस्कार पाउने मञ्चले जनाएको छ । त्यसैगरि, दोश्रोले १ लाख, तेश्रोले ७५ हजार, चौथोले १५ हजार पाउनेछन् ।

पोखरा म्याराथन अन्तर्गत १० किलोमिटर महिला तथा पुरुषतर्फ विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पुरस्कार पाउनेछन् । त्यस्तै ५ किलोमिटर छात्रछात्रा दौडमा पहिलोले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ४ हजार पुरस्कार पाउनेछन् । महिला तथा पुरुष ह्विलचियर र दृष्टीबिहीन दौडमा पहिलोले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार पुरस्कार पाउनेछन् ।

यस पटकको पोखरा म्याराथनलाई ‘वल्र्डपिस रन’का धेरै सदस्यहरुले ‘शान्तिका लागि दौड’का रुपमा उपयोग गर्नेछन् । यस अभियानका लागि श्री चिनमय वाननेस होमका सदस्य १३ राष्ट्रका १७ भन्दा वढि धावकहरुलेअ आफ्नो देशको झण्डासहित ‘पिस रन टर्च’ का साथ दौडनेछन् ।

यस पटकको म्याराथनमा युनेस्कोका पूर्व अध्यक्ष डेभिड्सनले आफ्नो प्रत्यक्ष सहभागिता रहने प्रतिबद्धता समेत जनाएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेशका आर्थिक मामिला योजनामन्त्री किरण गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल र पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी समेत यस पटकको म्याराथन दौडमा सहभागी हुनेछन् ।

क्यान्सर पीडितहरुलाई ‘जीवन संभव छ’ भन्ने सन्देश प्रवाह गर्न क्यान्सर पीडित मञ्जु गुरुङले गत वर्षदेखि पोखरा म्याराथनमा सहभागिता जनाएकी छन् । नेपालको महिला भलिबल टोलीकी पूर्व कप्तान समेत रहेकी मञ्जुले यस संस्करणको म्याराथनमा पनि दौडनेछिन् । मञ्जुसँगै थप २ जना क्यान्सरपीडितहरुले यस संस्करणको म्याराथनमा सहभागिता जनाउँदैछन् ।