फागुन ७ मा खेलकुद पत्रकार मञ्च गण्डकीको साधारणसभा

बैठकले प्रथम वार्षिक साधारणसभा आगामी फागुन ७ मा पत्रकार महासंघ कास्कीको सभाहलमा गर्ने निर्णय गरेको छ

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको १४ औं बैठक शनिबार पोखरामा सम्पन्न भएको छ ।

मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बसेको बैठकले प्रथम वार्षिक साधारणसभा आगामी फागुन ७ मा पत्रकार महासंघ कास्कीको सभाहलमा गर्ने निर्णय गरेको छ । सो अवसरमा चौथो पोखरा स्पोर्टस् अवार्डको आय–व्यय समेत सार्वजनिक गर्ने कार्यक्रम छ ।

यस्तै, मञ्चले खेल र खेलाडीको प्रवद्र्धनका लागि नियमित आयोजना गर्दै आएको पोखरा स्पोर्टस् अवार्ड समारोहलाई अबदेखि विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन गर्ने निर्णय समेत गरेको छ । जसअनुसार अब हुने पाँचौ संस्करणको स्पोर्टस् अवार्ड २०७७ वैशाख २१ मा हुनेछ ।

यसैगरी, मञ्चका कार्यसमिति सदस्य उमेश पुनको उपचार सहयोगार्थ हाललाई १० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गर्दै सो रकम उनकै निवासमा पुगेर हस्तान्तरण समेत गरेको छ ।
कार्यक्रममा मञ्च सल्लाहकार दीननाथ बराल, अध्यक्ष एकराज गिरी, उपाध्यक्ष रञ्जन अधिकारी, महासचिव विजय नेपाल, सचिव राजाराम पौडेल, कोषाध्यक्ष शशिकुमार पौडेलको उपस्थिति थियो ।

समाचार संकलन गरी फर्किने क्रममा गत माघ १४ मा पोखरा चाउथेमा मोटरसाइकल दुर्घटनामा परी पत्रकार उमेश पुन र सुमन गुरुङ घाइते भएका थिए । पत्रकार उमेशको दायाँ हात भाँच्चिएको छ ।