एक दिवसीय क्रिकेट : नेपालको जितमा कुशलको कीर्तिमानी अर्धशतकीय योगदान

नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य प्रस्तुत गर्दा कुशलले अर्धशतकीय ५० रनको योगदान दिए, उनले ५१ बलमा अर्धशतक रन बनाएका हुन्, कुशलले आफूलाई एक दिवसीय क्रिकेटमा अर्धशतीय रन बनाउने कान्छा खेलाडीको रेकर्ड समेत बनाएका छन्

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । अमेरिकासँगको आइसीसी विश्वकप एक दिवसीय लिग–२ मा नेपालका कुश मल्लले अर्धशतकीय रन बनाएका छन् ।

नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य प्रस्तुत गर्दा कुशलले अर्धशतकीय ५० रनको योगदान दिए । उनले ५१ बलमा अर्धशतक रन बनाएका हुन् । कुशलले आफूलाई एक दिवसीय क्रिकेटमा अर्धशतीय रन बनाउने कान्छा खेलाडीको रेकर्ड समेत बनाएका छन् ।

घरेलु भुमीमा जारी आइसीसी विश्वकप अन्तर्गत एक दिवसीय लिग–२ क्रिकेटमा कुशलको अर्धशतकीय रनको मद्दतले पाहुना टोली अमेरिकामाथि नेपालले ३५ रनको जित निकाल्यो । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले इनिङ समाप्तिको चार बलअघि अलआउट बन्दै १९० रन बनाएको थियो । खराब शुरुवात गरेको नेपालको इनिङमा कुशल मल्लसँगै विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरे ।

पाँच विकेट जाँदा ४९ रनको धरासायी अवस्थामा रहेको नेपालका लागि विनोद र कुशलले ८४ रनको साझेदारी गरे । त्यसअघि, ओपनर सुवास खकुरेलले ३, कप्तान ज्ञानेन्द्र मल्लले २१ र पारस खड्काले १९ रनको योगदान दिएका थिए । दीपेन्द्रसिंह ऐरी डकआउट बन्दा आरिफ शेखले समेत २ रन मात्रै जोडेर आउट बने ।

विनोदले ७९ बलमा ५९ रनको योगदान दिए । उनी रस्टी थेरनको बलमा अक्षय होमराजबाट क्याच आउट बने । सुशन भारीले ११ रनको मात्रै योगदान गरे । बलिङतर्फ क्यामरुन स्टेभेन्सनले ३ विकेट लिए । रस्टी थेरन र सौरभ नेत्राभाल्करले २/२ विकेट लिए ।

जवाफमा १९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४. १ ओभरमा १ सय ५५ रनमा अल आउट बनेको थियो । एक सय ५५ रन बनाउने क्रममा अमेरिकाका आइजी हल्याण्डले सर्र्वाधिक ७५ रन बनाए । स्ट्भेन्सनले १९ रन मात्र बनाए ।

बलिङतर्फ करण केसीले सर्वाधिक ४, सुशन भारीले ३, सन्दीप लामिछानेले २ तथा कुशल मल्लले १ विकेट लिए । करण केसी म्यान अफ द म्याच घोषित भए ।

नेपालको जितमा सन्दीप लामिछानेले अमेरिकालाई पहिलो झड्का दिन सफल भए । दोस्रो ओभरमै स्पिन बलिङ लिएर आएका सन्दीपले अमेरिकाले ६ रन बनाउँदा अमेरिकाका आरोन जोन्सलाई एलबीडब्ल्यू धरापमा पारे । जोन्सले ५ रन मात्रै बनाएर आउट बने । अर्को ओभरमा करण केसीले नेपाललाई दोस्रो सफलता दिलाए । करणले स्टेभन टेलरलाई आउट गरे । टेलरले खाता खोल्नै सकेनन् ।

नेपाललाई चौथो सफलता सन्दीपले दिलाए । व्यक्तिगत दोस्रो विकेट हात पार्ने क्रममा सन्दीपले मोनाक पटेललाई एलबीडव्ल्यूको धरापमा पारे । ४ ओभरमा १३ रन बनाएर अमेरिकाले ४ विकेट गुमायो । अमेरिकाले पाँचौं विकेट २७ रनको स्कोरमा गुमाएको थियो । अमेरिकाका अक्षय होमराजलाई सुशन भारीले आउट गरे । होमराज ५ रन बनाएर आउट भएका हुन् ।