सफल पोखरा म्याराथनमा ७३ वर्षीय टंक श्रेष्ठ समेत दौडने

गोरखाको बोर्लाङ स्थायी घर भई हाल पोखरा–७ घारीपाटनमा बसोबास गर्दै आएका श्रेष्ठ गत वर्षको सफल पोखरा म्याराथनमा समेत दौडिएका थिए, गत वर्ष पनि श्रेष्ठले १० कि.मी.को दौड पूरा गरेका थिए

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । सफल पोखरा म्याराथनमा ७३ वर्षीय टंकबहादुर श्रेष्ठ समेत दौडने भएका छन् ।

फागुनको ३ गते हुने पोखरा म्याराथन अन्तर्गत १० कि.मीं दूरीको म्याराथनमा दौडने श्रेष्ठले बताए । गोरखाको बोर्लाङ स्थायी घर भई हाल पोखरा–७ घारीपाटनमा बसोबास गर्दै आएका श्रेष्ठ गत वर्षको सफल पोखरा म्याराथनमा समेत दौडिएका थिए । गत वर्ष पनि श्रेष्ठले १० कि.मी.को दौड पूरा गरेका थिए ।

उनले भने, ‘देशका लागि केही योगदान गर्र्ने उद्देश्य छ । म्याराथनमा आफ्नो सक्रिय सहभागिता जनाएर खेलकुदप्रति नयाँ पुस्तालाई प्रोत्साहन गर्न चाहन्छु । गत वर्षको अनुभव र उत्साहले यस वर्ष पनि १० कि.मी.को म्याराथन पूरा गर्ने लक्ष्य छ ।’

पोखरा म्याराथनका लागि लक्ष्मी ग्रुपको सुजल डेरीबाट उत्पादित सफल दूधले मुख्य प्रायोजन गर्दै आएको छ । ‘स्वास्थ्यका लागि दौडौं, राष्ट्रका लागि दौडौं’ भन्ने मूल नारासहित प्रत्येक वर्ष हुँदै आएको म्याराथनहरुमा नयाँ विशेषताहरु पनि थपिदैं आएका छन् ।

यस पटकको म्याराथन १४ औं संस्करणको हुनेछ । युनेस्कोका पूर्व अध्यक्ष डेभिड्सन लिङ्कनको समेत यस पटकको म्याराथनमा प्रत्यक्ष सहभागिता रहनेछ । डेभिड्सनले म्याराथनमा आफ्नो सक्रिय एवं प्रत्यक्ष सहभागिता रहने सन्देश समेत पठाएका छन् ।

श्री चीनमोय संस्थाका सदस्य राष्ट्रहरुमध्येबाट १३ देशका करिब १७ जना धावकहरुले आफ्नो देशको झण्डासहित ‘पिस रन टर्च’ बालेर पोखरा म्याराथनमा दौडनेछन् । उनीहरुले विश्वमा शान्तिको सन्देश दिन यस्तो कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेशका आर्थिक मामिला योजनामन्त्री किरण गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल र पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी समेत यस पटकको म्याराथन दौडमा सहभागी हुनेछन् ।

क्यान्सर पीडितहरुलाई ‘जीवन संभव छ’ भन्ने सन्देश प्रवाह गर्न क्यान्सरपीडित मञ्जु गुरुङ म्याराथन अन्तर्गत १० कि.मी.को दौडमा यस वर्ष पनि सहभागी हुनेछिन् । नेपालको महिला भलिबल टोलीकी पूर्व कप्तान समेत रहेकी मञ्जुले १३ औं संस्करणको म्याराथनमा पनि सहभागिता जनाएकी थिइन् । मञ्जुसँगै थप २ जना क्यान्सरपीडितहरुले यस संस्करणको म्याराथनमा सहभागिता जनाउँदैछन् ।

पोखरा म्याराथनलाई सफल बनाउन र तयारीका लागि आयोजक संस्था यतिखेर तीब्र प्रचार प्रसारमा लागेको छ । पोखरा महानगरको १ देखि १७ वडा म्याराथन अन्तर्गत ४२.१९५ कि.मी.को म्याराथनको रुट पर्ने भएकोले सम्बन्धित वडाहरुमा प्रचार प्रसारका कार्यक्रमहरु गरिएको छ ।

मञ्चले शुक्रबार पोखराको १३ नं वडामा एक कार्यक्रम ग¥यो । वडाध्यक्षसहित टोलविकास संस्था, सामाजिक संघसंस्था, स्थानीय आमा समूह र क्लबहरुले पोखरा म्याराथनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन् । उनीहरुले म्याराथन आम पोखरेलीहरुकै भएकाले सफल बनाउन जोड दिए ।

पोखरा–१३ का वडाध्यक्ष लेखबहादुर तामाङले म्याराथनलाई १३ नं वडाको सहयोग रहने जनाए । म्याराथनमा सहभागिताका लागि उक्त दिन वडाभित्रका सामाजिक संघसंस्था, टोलविकास संस्था, स्थानीय आमा समूह र क्लबहरुलाई परिचालन गर्ने तामाङको भनाई थियो ।

‘म्याराथन प्रतियोगिता सिटिलाई चिनाउनका लागि आयोजना गरिन्छ । पोखरामा हुने म्याराथन यस ठाउँलाई चिनाउने उपयुक्त माध्यम पनि हो । भूतपूर्व खेलाडी मञ्चको प्रयासमा यहाँ हुने म्याराथनलार्ई पोखरा महानगरपालिकाले अपनत्व ग्रहण र संरक्षण प्रदान गरेको छ । आगामी वर्षदेखि म्याराथनलाई स्वयं पोखरा महानगरपालिकाले होस्ट गर्नुपर्छ ।’

कार्यक्रममा भद्रकाली माविका प्रअ घनश्याम रिजालले विद्यालयको तर्फबाट म्याराथनमा सहयोग र सहभागिता जनाउने प्रतिबद्धता जनाए । रिजालले म्याराथन अन्तर्गत ५ कि.मी. दूरीको दौडमा आफ्ना विद्यार्थीहरुले सहभागिता जनाउने बताए । म्याराथनको रुट पर्ने विद्यालयको दायाँवायाँ विद्यालयको ब्यानरसहित धावकहरुलाई स्वागत समेत गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा भूतपूर्व खेलाडी मञ्चका महासचिव खेमबहादुर गुरुङ, मञ्चका संघसंस्था समन्वय समितिका संयोजक तिलक केसी र सह–कोषाध्यक्ष महेश पौडेल लगायतले पोखरा म्याराथनबारे प्रकाश पारेका थिए ।

सफल पोखरा म्याराथन ४२.१९५ किमीको हुनेछ । पोखरा म्याराथनसँगै महिला तथा पुरुषको १० किमीको दौड, विद्यालयका छात्रछात्रा ५ किमी दौड र महिला तथा पुरुषको ह्वीलचियर र दृष्टिबिहीन दौड समेत आयोजना हुनेछन् ।

विश्वमै पोखरालाई म्याराथन शहरको रुपमा चिनाउन र विदेशी धावकहरुलाई आकर्षित गर्न पुरुस्कारको राशीमा समेत वृद्धि गरिएको छ । जसमा यस पटक ४२.१९५ किमिको पोखरा म्याराथन विजेताले २ लाख पुरस्कार पाउने मञ्चले जनाएको छ । त्यसैगरि, दोश्रोले १ लाख, तेश्रोले ७५ हजार, चौथोले १५ हजार पाउनेछन् ।

पोखरा म्याराथन अन्तर्गत १० किलोमिटर महिला तथा पुरुषतर्फ विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पुरस्कार पाउनेछन् । त्यस्तै ५ किलोमिटर छात्रछात्रा दौडमा पहिलोले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ४ हजार पुरस्कार पाउनेछन् । महिला तथा पुरुष ह्विलचियर र दृष्टीबिहीन दौडमा पहिलोले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार पुरस्कार पाउनेछन् ।