अनिसले कोल्मा बाहाकोट जिते क्रस कन्ट्री

अनिषले निर्धारित ३१ किलोमिटर दूरीको दौड १ घन्टा २५ मिनेट २० सेकेण्डमा पूरा गरेका थिए

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । पर्वतका अनिष थापा मगरले दोस्रो संस्करणको कोल्मा बाहाकोट क्रस कन्ट्री दौड जितेका छन् ।

लिगलिग कोट दौडको समेत विजेता बनेका अनिषले निर्धारित ३१ किलोमिटर दूरीको दौड १ घन्टा २५ मिनेट २० सेकेण्डमा पूरा गरेका थिए । अनिषले क्रस कन्ट्रीको उपाधिसँगै ५० हजार पुरस्कार समेत जिते ।

त्यस्तै, सोलुखोम्बुका सुमन कुलुङ राईले उक्त निर्धारित दूरीको दौड १ घन्टा २८ मिनेट ३७ सेकेण्डमा पूरा गर्दै दोश्रो बने । सुमनले ४० हजार पुरस्कार पाए । गोर्खाका भीमबहादुर गुरुङले १ घन्टा ३२ मिनेट ४७ सेकेण्डमा दौड पूरा गर्दै तेश्रो बने । भीमबहादुरले ३० हजार पुरस्कार प्राप्त गरे ।

यता, सशस्त्र प्रहरी बलका निरज भट्टले १४ किलोमिटरको दौडको विजेता बने । निरजले १ घन्टा ५३ सेकेण्डमा १४ किलोमिटरको दौड पुरा गरेका हुन् । निरजले २० हजार हात पारे । उक्त स्पर्धामा पर्वतका प्रेम पौडेल दोस्रो बने । प्रेमले १ घन्टा ५ मिनेट ५५ सेकेण्डमा दूरी पूरा गर्दै दोश्रो बनेका हुन् । तनहुँका शाहस पन्थले १ घन्टा ६ मिनेट ४८ सेकेण्डमा उक्त दुरी पार गर्दै तेश्रो बने । शाहसले १० पुरस्कार हात पारे ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवाल, नेपाली सिने जगतका महानायक राजेश हमाल, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङलगायतले विजेता धावकहरुलाई ट्रफी र पुरस्कार वितरण गरे । स्याङ्जा पुतलीबजार नगरपालिका चिरुवाबाट सुरु भएको दौड विभिन्न भाग परिक्रमा पश्चात कोल्मामा पुगेर सम्पन्न भएको थियो ।