ए डिभिजन लिगमा मनाङ तेस्रो स्थानमा

मनाङले ११ खेलबाट २२ अंक बनाएको छ, थ्रीस्टार क्लब जारी शहीद स्मारक ए डिभिजन लिगको चौथो स्थानमा छ

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । साविक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

ललितपुरको एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा एनआरटी क्लबलाई ४–१ गोलको जित निकालेपछि मनाङ लिगको तेस्रो स्थानमा उक्लिएको हो ।

एनआरटीमाथिको जितमा मनाङले पहिलो र दोस्रो हाफमा २/२ गोल गरेको थियो । एनआरटीले दोस्रो हाफको अन्तिममा सान्त्वना गोल फर्कायो । मनाङको जितमा विमल रानाले ३५ औं मिनेटमा सुरुवाती गोल गरेका थिए । उनले कमल श्रेष्ठको क्रस पासमा गोल गरेका थिए ।

अन्जन बिष्टले ४३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए । एनआरटीका रक्षकले अन्जनलाई फल हानेपछि पाएको पेनाल्टीमा अन्जन आफैले गोल गरे । अन्जनले ६५ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे ।

मनाङले दोस्रो हाफको इन्जुरी समयमा चौथो गोल थपेको थियो । भारतीय खेलाडी दयानन्द सिंहले गोल गर्दै मनाङलाई सहज जित दिलाए । दयानन्दले भिडाल लुइसको पासमा गोल गरेका थिए । यसअघि एनआरटीका सकल रेग्मीले ८८ औं मिनेटमा सान्त्वना गोल फर्काए । दुई गोल गरेका मनाङका अन्जन बिष्ट ‘म्यान अफ दी म्याच’ बने ।

जितसँगै मनाङले ११ खेलबाट २२ अंक बनाएको छ । एनआरटी १५ अंकसहित तालिकाको आठौं स्थानमा छ । शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको २६ अंक छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबको २५ अंक छ ।

थ्रीस्टार चौथो स्थानमा

यसअघि, थ्रीस्टार क्लब जारी शहीद स्मारक ए डिभिजन लिगको चौथो स्थानमा छ । शनिबारको खेलमा संकटा क्लबलाई पराजित गर्दै लिग फुटबलको अंक तालिकामा थ्रीस्टार तेस्रो स्थानमा थियो । आइतबार मनाङ मस्र्याङ््दीले तेस्रो स्थान कायम गरेपछि थ्रीस्टार लिगको चौथो स्थानमा झरेको हो ।

शनिबारको पहिलो खेलमा थ्रीस्टारले साविक उपविजेता संकटालाई १–० गोल अन्तरले पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लेको थियो । जारी प्रतियोगितामा थ्रीस्टारले ११ खेलमा २० अंक जोडेको छ । यता, समान खेल खेलेको संकटा १५ अंकका सहित पाँचौँ स्थानमा छ ।