सागमा स्वर्ण जित्ने फुटबलरलाई जनही ५ लाख ५० हजार पुरस्कार

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आइतबार बसेको बैठकले (साग) फुटबलमा स्वर्ण जित्न सफल फुटबल खेलाडीहरुलाई जनही ५ लाख ५० हजार दिने निर्णय गरेको हो

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । घरेलु भुमीमा सम्पन्न १३ औं संस्करणको दक्षिण एसियली खेलकुद (साग) फुटबलमा स्वर्ण जित्न सफल फुटबल खेलाडीले जनही ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आइतबार बसेको बैठकले खेलाडीहरुलाई जनही उक्त राशीको नगद पुरस्कार दिने निर्णय गरेको हो ।

एन्फाको निर्णय अनुसार पुरुष टोलीका खेलाडीहरुले जनही ५ लाख ५० हजार पाउनेछन् । त्यस्तै, उक्त संस्करणको साग खेलकुदमा उपविजेता बनेको महिला टोलीका खेलाडीहरुले जनही १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । साग फुटबलमा नेपालले पुरुषतर्फ स्वर्ण र महिलामा रजत जितेको थियो ।

सरकारले यसअघिनै पुरुष टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो । एन्फा बैठकले सहिद स्मारक ‘बी’ डिभिजनमा सहभागी क्लबलाई १० लाख र ‘सी’ डिभिजनमा सहभागी क्लबहरुलाई ७ लाख रुपैयाँ तयारी खर्च दिने निर्णय समेत गरेको छ ।

एन्फाले यसअघि ‘ए’ डिभिजन क्लबलाई २० लाख रुपैयाँ तयारी खर्च दिएको थियो । बैठकले महिला लिग संचाल गर्ने र महिला लिगको विजेतालाई १५ लाख, उपविजेतालाई ८ लाख, तेस्रोलाई ५ लाख र चौथोलाई ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय समेत गरेको छ ।