एक दिवसीय क्रिकेट लिग–२ मा ओमानसँग नेपालको दोस्रो हार

घरेलु मैदानमा नेपाललाई पाहुना टोली ओमानले ८ विकेटको फराकिलो अन्तरले दोस्रो पटक हरायो, अमेरिकालाई सहजै हराएको नेपाल ओमानसँग भने निरिह बन्यो ।

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले दोस्रो पटकपनि ओमानसँग हार ब्यहोरेको छ ।

घरेलु मैदानमा नेपाललाई पाहुना टोली ओमानले ८ विकेटको फराकिलो अन्तरले दोस्रो पटक हरायो । अमेरिकालाई सहजै हराएको नेपाल ओमानसँग भने निरिह बन्यो ।

ओडीआर्ई मान्यताप्राप्त त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले प्रस्तुत गरेको २ सय ५० रनको चुनौतीलाई ओमानले २ विकेटको क्षतिमा १६ बल बाँकी छदैमा पूरा ग¥यो ।

प्रारम्भिक दुई व्याट्सम्यान जितेन्दरसिंह र कनवर अलीलाई गुमाएपछि आएका अकिब इलियास र जिसान मकसुदको साझेदारीले नेपाली टोलीलाई धराशायी बनाएको थियो । अकिब इलियासले १ सय ८ बलको सामना गरेर १२ चौका र १ छक्काको सहयोगमा नटआउट १ सय ९ रनको योगदान दिए ।

ओमानी कप्तान मकसुदले ७९ बलको सामना गरेर ८ चौकाको सहयोगमा नटआउट ६८ रन जोडे । जितेन्दर सिंहले २३ रनको योगदान गरे । कनवर अलीले ४१ रन थपे । सन्दीप लामिछानेले १० ओभर बलिङ गरेर ६५ रन दिएपनि १ विकेट पनि लिन सकेनन् । सुशन भारी र कुशल मल्लले समान १/१ विकेट लिए ।

यसअघि, नेपालले ओमानसामु २ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको थियो । आइतबार टियू क्रिकेट मैदानमा टस हारेर व्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४९ रन बनाउन सफल बन्यो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । कप्तान ज्ञानेन्द्रले ७६ बलमा ६ चौका र १ छक्का सहित ५६ रन जोडे । उनको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो दोस्रो अर्धशतक हो । यसअघि, ज्ञानेन्द्रले २०१८ अगष्ट १ मा नेदरल्यान्डसँगको पहिलो ओडीआई डेब्यू खेलमा ५१ रन जोडेका थिए ।

पूर्व कप्तान पारस खड्काले ३४ बलमा ६ चौका र १ छक्का सहित ३८ रन मात्रै जोडे । सुवासले ४२ बलमा १ चौका प्रहार सहित २२ रनको योगदान गरे । कुशल मल्लले २४ बलमा २ चौका र २ छक्का सहित २८ रन जोड्न सफल बने । आरिफ शेखले पनि ४५ बलमा २८ रन जोडे ।

नेपालका करण केसीले १६ बलमा १० रन मात्रै बनाउन सफल भए । सन्दीप लामिछानेले ७ बलमा एक छक्का १० रनको मात्रै योगदान गरे । कमल ऐरीले ६ बलमा १ चौका सहित ९ रन जोड्न सफल भए । विनोद भण्डारीले ४७ बलमा ५ चौका सहित ३५ रन जोडे । विनोदले शनिबार भएको अमेरिसँगको खेलमा ५९ रनको योगदान गरेका थिए ।

दीपेन्द्रसिंह ऐरी भने शून्य रनमै आउट बने । शनिबार भएको अमेरिकासँगको पहिलो खेलमा पनि दीपेन्द्र शून्य रनमै आउट बनेका थिए । यसअघिको पहिलो खेलमा नेपाल ओमनसँग १८ रनले पराजित बनेको थियो ।