यु.के., बेल्जियम र हङकङबाट सहारा एकेडेमीलाई सहयोग

सहारा क्लवका शुभेच्छुकहरुले एकेडेमीको अक्षयकोषमा १ लाख २० हजार सहयोग गरेका हुन्

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । पोखराकोे सहारा एकेडेमीको अक्षयकोषमा यु.के., वेल्जियम र हङकङबाट सहयोग प्राप्त भएको छ ।

सहारा क्लवका शुभेच्छुकहरुले पोखरा १७ दोबिल्लास्थित एकेडेमीको अवलोकन गर्दै अक्षयकोषका लागि १ लाख २० हजार सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् ।

टोलीले सहारा एकेडेमीका बालकहरुको लागि खाजा खर्च थप २० हजार रुपैया समेत प्रदान गरेको क्लवले जनाएको छ । तमु धिं यु.के.का उपाध्यक्ष एवं रामबजार सोसाइटी यु.के.का पूर्व अध्यक्ष सहारा य.के. सदस्य जुमकाजी गुरुङ र कमला गुरुङले सहारा क्लवले स्थापना गरेको अक्षयकोषमा ५० हजार रुपैया आर्थिक सहयोग गरे ।

त्यसैगरी, सहारा एकेडेमीका बालकहरुको खाजा खर्च वापत थप १० हजार रुपैया समेत गुरुङ परिवारले सहयोग गरे । तमु समाज वेल्जियमका संस्थापक अध्यक्ष मिन गुरुङ र शर्मिला गुरुङबाट सहारा एकेडेमीको अयक्षकोषमा ५० हजार आर्थिक सहयोग प्रदान गरे ।

सहारा हङकङका आजीवन सदस्य सन्तोष मल्लले अक्षयकोषमा १० हजार सहयोग प्रदान गरे । हङकङ नेपाली युवा समुहबाट अक्षयकोषमा १० हजार सहयोग प्राप्त भएको सहारा क्लबले जनाएको छ ।

सहारा क्लव यु.के.का सल्लाहकार हरिकुमार श्रेष्ठ र सरिता श्रेष्ठले एकेडेमीका बालकहरुको खाजा खर्चका लागि १० हजार सहयोग गरे । उक्त रकम क्लवका अध्यक्ष केशवबहादुर थापालाई एकेडेमीमै हस्तान्तरण गरेको हो ।

तमु समाज वेल्जियमका संस्थापक अध्यक्ष मिन गुरुङ, सहारा क्लव यु.के.का सल्लाहकार हरिकुमार श्रेष्ठ, पूर्व खेलाडी प्रसाद गुरुङ सहितका व्यक्तिहरुको करिब ४ दशक पछि भेटघाट भएको सुदर्शन रञ्जितले जानकारी दिएका छन् ।

सहारा एकेडेमीमा हाल १२ जिल्लाका २४ जना बालकहरु रहेको क्लवका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

यसैबिच, आउँदो फागुनको तेश्रो सातादेखि आहा ! रारा गोल्ड कप फुटवल प्रतियोगिता पोखरामा हुने भएको छ । उक्त फुटवल प्रतियोगिताबाट बचत हुन आउने रकम क्लवले सहारा फुटवल एकेडेमीमा खर्चिदै आएको छ ।