पोखरामा प्रदेशस्तरीय जिल्ला क्रिकेट लिग बुधबारदेखि

प्रतियोगितामा कास्कीका दुई टिमसहित ५ टिमले प्रतिस्पर्धा गर्दैछन्, सहभागी टिमहरुमा कास्की ‘ए’, कास्की ‘बी’ सहित गण्डकी प्रदेशका नवलपुर, बाग्लुङ र स्याङ्जा रहेको

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । पोखरामा गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला क्रिकेट लिग प्रतियोगिता हुने भएको छ ।

पोखरा क्रिकेट एकेडेमीको आयोजनामा बुधबार (भोली) देखि पोखरा रंगशालामा क्रिकेट लिग हुन लागेको आयोजक समितिले पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

एक दिवसीय फम्र्याटमा संचालन हुने प्रतियोगितामा कास्कीका दुई टिमसहित ५ टिमले प्रतिस्पर्धा गर्र्दै छन् । सहभागी टिमहरुमा कास्की ‘ए’, कास्की ‘बी’ सहित गण्डकी प्रदेशका नवलपुर, बाग्लुङ र स्याङ्जा रहेको आयोजक एकेडेमीका अध्यक्ष बमबहादुर कँुवरले जानकारी दिएका छन् ।

यस प्रतियोगिता नाफामूलक भन्दापनि क्रिकेट विकासका लागि आयोजना गरिएको उनले बताए । प्रतियोगिता आयोजनाका लागि हालसम्म आफूहरुले कुनै ठूलो प्रायोजक पनि नपाएको उल्लेख गर्दै यो प्रतियोगिताबाट कमाउने वा बचत गर्ने लक्ष्य पनि नरहेको जनाए ।

१० दिनसम्म चल्ने प्रतियोगितामा १० खेल हुने प्रतियोगिता संयोजक चन्द्र गुरुङ ‘जिम्मी’ले बताए । राउण्ड रोविन लिगको आधारमा खेलाइने प्रतियोगितामा लिगका सबै खेल सकिदाँ शीर्षस्थानमा रहने टिम प्रतियोगिताको च्याम्पियन बन्ने उनले जानकारी दिए ।

गण्डकी प्रादेशिक क्रिकेट संघ तथा कास्की जिल्ला क्रिकेट संघको सहयोगमा हुने प्रतियोगितको च्याम्पियन टिमले २० हजार सहित ट्रफी पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर तथा हरेक खेलमा ‘म्यान अफ दी म्याच’ ट्रफी प्रदान गरिने एकेडेमीका प्रशिक्षक रिजन प्रजुले जनाए ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले जुनियर लेवलका खेलाडीलाई लक्षित गर्दै आयोजित यस्ता प्रतियोगिताबाट नवप्रतिभा खेलाडी निस्कने औल्याए । प्रतियोगिता सफल पार्न परिषद्को तर्पmबाट आर्थिक एवं भौतिक सहयोग समेत गर्ने गुरुङले बताए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले नितान्त क्रिकेट विकासका लागि आयोजित यस प्रतियोगितालाई व्यापक गर्न सञ्चारक्षेत्रलाई आग्रह गरे । नेपालले महाशक्तिशाली राष्ट्रलाई समेत पराजित गर्न सक्ने भनेको खेल क्षेत्र नै हो भन्दै उनले पछिल्लो समय नेपालले क्रिकेटमा उल्लेख्य प्रगति गरेको जनाए ।

सञ्चारकर्मी रिना थापाले सञ्चालन गरेको कार्यक्रममा गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजु, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतको सहभागिता थियो ।