मच्छिन्द्र ए डिभिजन लिगको शीर्ष स्थानमा

संकटामाथिको जितसँगै मच्छिन्द्रको  १२ खेलबाट २८ अंक बटुल्दै शीर्ष स्थानमा छ, च्यासल युथ क्लबसँग पराजित भएसँगै सरस्वति सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटलबबाट ‘बी’ डिभिजनमा घटुवा भएको छ

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदानमा संकटा क्लबलाई ३ –१ ले हराउँदै मच्छिन्द्र जारी लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

संकटामाथिको जितसँगै मच्छिन्द्रको  १२ खेलबाट २८ अंक बटुल्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहे को आर्मीले १ खेल कम खेल्दै २६ अंकको अवस्थामा छ ।

मच्छिन्द्रका लागि देवेन्द्र तामाङ, विशाल राई ‘बी’ र दीपक राईले १/१ गोल गरे । । खेलको ९० औं मिनेटमा संकटाका मसोउकीले टोलीका लागि शान्त्वना गोल गरे ।

संकटाविरुद्ध सानदार प्रदर्शन गरेको मच्छिन्द्रले ४४ औं मिनेटमा देवेन्द्रको गोलबाट सुरुआती अग्रता लिएको थियो । उनले रन्जित धिमालको कर्नर पासमा हेड मार्फत गोल गरेका थिए । त्यसपछि ६४ औं मिनेटमा बिशाल राईले लामो फ्री–किकमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि ८२ औं मिनेटमा दिपक राईले रन्जित धिमालको पासमा गोल गर्दै मच्छिन्द्रको जित सहज बनाए ।

सरस्वति ‘बी’ डिभिजनमा घटुवा

यता सरस्वती युवा क्लब भने जारी लिगबाट ‘बी’ डिभिजनमा घटुवा भएको छ । च्यासल युथ क्लबसँग पराजित भएसँगै सरस्वति सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटलबबाट ‘बी’ डिभिजनमा घटुवा भएको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल एपिएफको खेल मैदानमा सोमबार भएको १२ औँ चरणको खेलमा सरस्वती च्यासल युथ क्लबसँग २–१ गोल अन्तरले पराजित हुँदै बी डिभिजन लिगमा घटुवा भएको हो । सरस्वती लिगको एक खेल खेल्न बाँकी छँदै ‘बी’ डिभिजनमा घटुवा भएको हो ।

सरस्वतीबाहेक अन्य टोली अब घटुवामा पर्ने छैनन् । अखिल नेपाल फुटबल संघ एन्फाले यस पटक १४ टोलीमा एक टोली मात्र घटुवा हुने प्रावधान बनाएको थियो । क्लबको इतिहासमा सरस्वती दोस्रो पटक घटुवा भएको हो । यसअघि विसं २०६३ मा पहिलो पटक ए डिभिजन लिग खेलेको सरस्वती सोही वर्ष ‘बी’ डिभिजनमा घटुवा भएको थियो । त्यसयता ए डिभिजनमा रहेर खेलिरहेको थियो ।

च्यासलको जितमा जापानी खेलाडीद्वय ताइगा नाकामुरा र हायातो वाकिनोले १/१ गोल गरे । सरस्वतीका लागि भने काजिम बुसारीले १ गोल फर्काए । खेलको ‘म्यान अफ दी म्याच’ च्यासलका नाकामुरा भए । सरस्वतीलाई पराजित गरेसँगै च्यासल भने १५ अंक सहित लिगको नवौँ स्थानमा छ ।