टोल–टोलबाट म्याराथनमा सहभागी बन्न मेयर जिसीको आग्रह

‘पोखरा म्याराथन सफल बनाउन टोल–टोल र गल्ली–गल्लीबाट सहभागी हुन म सबैलाई आग्रह गर्छु,’ मेयर जिसीले भने, ‘स्वास्थसँगै पोखराको प्रवद्र्धन गर्न म्याराथनले भुमिका खेल्नेछ ।’

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन पोखराबासीलाई आह्वान गरेका छन् ।

पोखरा महानगरपालिका अन्तर्गत विभिन्न वडाका वडाध्यक्षहरुलाई सम्बोधन गर्दै प्रमुख जिसीले पोखरा म्याराथनलाई सफल बनाउन नगरवासीहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

‘पोखरा म्याराथन सफल बनाउन टोल–टोल र गल्ली–गल्लीबाट सहभागी हुन म सबैलाई आग्रह गर्छु,’ उनले भने, ‘स्वास्थसँगै पोखराको प्रवद्र्धन गर्न म्याराथनले भुमिका खेल्नेछ ।’

पोखरा म्याराथनका आयोजक भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले सबैको साथ र सहयोगले पोखरा म्याराथनले भब्य सफलता पाउने विश्वास व्यक्त गरे । उनले विशिष्ट व्यक्तित्वहरुको सहभागिताले समेत अन्तर्राष्ट्रिय रुपमानै पोखरा म्याराथन स्थापित हुँदै गएको बताए । यसलाई सफल बनाउन वडाध्यक्षहरुसँग आग्रह गरे । पोखरा म्याराथनले नेपाल भ्रमण वर्ष २०२० लाई समेत सफल पार्न भूमिका खेल्ने बताए ।

पोखरा टिभीेबाट म्याराथनको प्रत्यक्ष प्रसारण

भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने १४ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रत्यक्ष प्रसारण पोखरा टिभीले गर्ने भएको छ ।

म्याराथनको प्रत्यक्ष प्रसारण गर्न मञ्चका अध्यक्ष तेज गुरुङ र पोखरा टिभीका तर्फबाट अध्यक्ष मनोज गुरुङले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि कुरा गर्दै पोखरा टिभीका अध्यक्ष गुरुङले पोखराको गौरवको रुपमा रहेको पोखरा म्याराथनलाई आफ्नो टेलिभिजनमार्फत प्रसारण गर्न पाउनु सुखद रहेको बताए । उनले स्थानीय तहमा हुने खेल गतिविधिलाई व्यवसायिक रुपमा भन्दा पनि सहयोगी हातका रुपमा अघि बढाएको भनाई राखे ।

मञ्चका अध्यक्ष गुरुङले पोखराको आफ्नै स्थानीय टेलिभिजनले म्याराथन प्रसारणका लागि देखाएको अग्रसरताले खेल बिकासका लागि महत्वपुर्ण हुने बताए । पोखरा म्याराथन सफल बनाउन स्थानीय संचारमाध्यमको भुमिका उल्लेख्य रहेको बताउँदै गुरुङले सबैलाई आभार व्यक्त गरे ।