त्रिभुवन आर्मी ए डिभिजन लिगको शीर्ष स्थानमा

शीर्ष स्थानमा रहेको आर्मीले १२ खेलबाट २९ अंक बनाएको छ । ए डिभिजन लिग करियरमा भरत खवासले पूरा गरे ५० गोल

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि नजिक पुगेको छ ।

एन्फा मैदानमा मंगलबार भएको खेलमा आर्मीले ब्रिगेड ब्वाईज क्लबलाई ३–० गोलले हरायो । यस जितसँगै आर्मी जारी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

ब्रिगेडसँगको जितसँगै आर्मी उपाधिको होडमा उभिएको छ । शीर्ष स्थानमा रहेको आर्मीले १२ खेलबाट २९ अंक बनाएको छ । आर्मी दोस्रो स्थानमा रहेको मच्छिन्द्र भन्दा १ अंकले अगाडी छ । मच्छिन्द्रको २८ अंक छ ।

आर्मी र मच्छिन्द्रबीचको अन्तिम खेलले नै उपाधिको छिनोफानो हुनेछ । नेपाली फुटबलमा प्रर्याप्त भौतिक संरचना र सुविधा भएरपनि आर्मीले अहिलेसम्म लिगको उपाधि जित्न सकेको छैन । अन्तिम खेलमा मच्छिन्द्रसँग बराबरी खेल्न सकेपनि आर्मीले नयाँ इतिहास रच्नेछ ।

आर्मीको जीतमा कप्तान भरत खवाससँगै विकास तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । भरतले ५ मिनेटमा जर्ज प्रिन्स कार्कीको पासमा हेडमार्फत सुरुवाती गोल गरेका थिए ।

दोस्रो गोल विकास तामाङले ५४ औं मिनेटमा गरे । विकासले सन्तोष तामाङको पासमा डेड गोल गरेका थिए । ७० औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई सहज जित दिलाए । टेकबहादुर ‘म्यान अफ दी म्याच’ बने । आर्मीसँग पराजित ब्रिगेड आठ अंक सहित १२ औँ स्थानमा छ ।

ए डिभिजन लिग करियरमा भरत खवासको  ५० गोल

 

ब्रिगेड ब्वाइजमाथिको जितमा कप्तान भरत खवासले लिगमा करियर को ५० औँ गोल पूरा गरे । भरतको यो लिग करियरको ५० औँ गोल हो । भरत अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका तेस्रो ब्याजका खेलाडी हुन् । गोलमा अर्धशतक पूरा गरेका भरतले १० बर्षअघि नेपाल पुलिस क्लबबाट लिग फुटबल खेल्न सुरु गरेका थिए । भरत पुलिस हुँदै आर्मी गएका थिए ।