एक दिवसीय क्रिकेट लिग–२ मा ओमानको अपराजित यात्रा कायमै

सिरिजको अन्तिम खेलमा ओमानले अमेरिकालाई ९२ रनले पराजित गर्दै अपराजित यात्रालाई कायमै राखेको हो

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । आइसीसी विश्वकप क्रिकेट लिग–२ छनौट प्रतियोगिता अन्तर्गतको सिरिजमा पाहुना टोली ओमानले अपराजित यात्रालाई कायमै राख्न सफल भएको छ ।

सिरिजको अन्तिम खेलमा ओमानले अमेरिकालाई ९२ रनले पराजित गर्दै अपराजित यात्रालाई कायमै राखेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७६ रन बनायो । ओमानका लागि कप्तान जिसान मक्सुद र अकिब इलियासले तेस्रो विकेटका लागि कीर्तिमानी २१६ रनको साझेदारी गरे । जुन अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा ओमानका खेलाडीले गरेको अहिलेसम्मकै ठूलो साझेदारी हो ।

यसअघि, नेपालविरुद्ध जिसान मक्सुद र अकिबले १ सय ६७ रनको साझेदारी गरेका थिए । जुन त्यसबेलाको उच्च साझेदारी थियो । ३१ रनमा दुई विकेटको अवस्थामा दुई खेलाडीले ओमानको पारीलाई सम्हालेका थिए । ओमानका ओपनर खवार अली १० रनमा आउट भएपछि ओमानले २१ रनमा पहिलो विकेट गुमायो । त्यसपछि जितिन्दरसिंह समेत ९ रनमा आउट भएपछि ओमानले ३१ रनमा दोस्रो विकेट खेर फाल्यो ।

त्यसपछि, कप्तान जिसनले सर्वाधिक १ सय ९ रन बनाए । जिसनले १ सय ९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । यस्तै, अकिबले पनि उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाए । अकिबले १ सय २३ बलमा ११ चौका र १ छक्काको मद्दतले ओमानका लागि दोस्रो सर्वाधिक १ सय ५ रन बनाए ।

ओमानका लागि एक दिवसीय क्रिकेटमा लगातार २ खेलमा २ शतक बनाउने अकिब पहिलो खेलाडी बनेका छन् । यसका साथै उनी ओमानका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी समेत बनेका छन् ।

यस्तै, जारी विश्वकप क्रिकेट लिग–२ मा सर्वाधिक रन बनाउने खेलाडी पनि उनी नै हुन् । उनले अहिलेसम्म ६ सयभन्दा बढी रन बनाइसकेका छन् । जसमा उनको २ शतक र ४ अर्धशतक रहेको छ ।

ओमानको २ सय ४७ रन हुँदा उसले तेस्रो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका नासिम खुसी मात्र ५ रनमा आउट बने । त्यसपछि, ओमानले २ सय ५५ रनमा पाँचौँ विकेट गुमायो । लगत्तै जिसानपनि आउट हुँदा ओमानले २ सय ५८ रनमा पाँचौ विकेट गुमायो ।

ओमानले बनाएको यो स्कोर उसको एक दिवसीय क्रिकेटमा बनाएको अहिलेसम्म कै ठूलो स्कोर हो । यसअघि ओमानले यसै प्रतियोगितामा नामिबियाविरुद्ध बनाएको २ सय ७२ रन सर्वाधिक ठूलो स्कोर थियो ।

बलिङमा अमेरिकाका सौरभ नेत्रवाल्करले ३ तथा रुस्टी थेरोनले २ विकेट लिए । जवाफमा अमेरिका ३९ ओभर १ बलमा १ सय ८४ रनमा अलआउट बनेको थियो । अमेरीकाले ३ रनमा पहिलो विकेट गुमाएको थियो । उसका ओपनर मोनांक पटेलले खाता खोल्नै सकेनन् । लगत्तै क्रिजमा आएका स्टेभन टेलरले समेत खातै नखोली पेभेलियन फर्किए । त्यसपछि, अमेरिकाले ३ रनमा नै दोस्रो विकेट खेर फाल्यो ।

सुरुदेखि नै दबावमा परेको अमेरिकाले ६३ रन बनाउँदा ४ विकेट खेर फालेको थियो । उसका जेभियर मार्सल २३ रनमा आउट बने । इयान होलाण्ड २८ रनमा पेभेलियन फर्किए । त्यसपछि अक्क्ष्य होमराज समेत ७ रनमा आउट बनेपछि अमेरीकाको पारी कमजोर बन्दै गयो ।

छैटौँ विकेटका लागि निसर्ग पटेल र आरोन जोन्सले ७० रनको साझेदारी गरेपनि पटेल ५२ रनमा आउट बने ।

अमेरिकाले १ सय ४९ रनमा छैटौँ विकेट खेर फालेको थियो । लगत्तै अमेरिकाले स्कोरबोर्डमा २१ रन थप्दा अरु २ विकेट गुमायो । करिमा गोरे २ रनमै आउट बने । कामरोन स्टेमेन्सन ४ रनमा पेभेलियन फर्किए । त्यसपछि रोस्टी थेरोन १२ रनमा आउट भए । बलिङतर्फ अकिब लियास र बिलाल खानले समान ३/३ विकेट लिए ।