पोखरामा यु–१८ सर्किट–२ टेनिस जारी

नेपाली खेलाडीको एकलमा कमजोर प्रदर्शन, डबल्समा सुधारिएको प्रदर्शन

जनसम्मत
माघ २८, २०७६, मंगलवार

पोखरा । आइटीएफ यु–१८ सर्किट–२ टेनिस प्रतियोगिता पोखरामा जारी  छ ।

पोखरा रंगशालास्थित टेनिस कोर्टहरुमा भएको खेलहरुमा मंगलबार पुरुषतर्फको एकलमा नेपालका आर्यन गिरीको चुनौतिलाई भारतका आर्यन लक्ष्मणले ६–० र ६–१ ले पन्छाए । जापानका ¥योहोइ मियाकेसँग नेपालका निहालजंग बहादुर थापा ६–१ र ६–० ले पराजित बने ।

महिलातर्फको एकल खेलमा चीनकी हुआयी झाङसँग नेपालकी अजा रेग्मी ६–१ र ६–० को अंकमा पराजित बनिन् । त्यस्तै, हङकङकी इरिका कन्ना हागीसँग नेपालकी ईरा मेहरनिस्सा रावत ६–० र ६–० मै समेटिइन् । भारतकी श्रृष्टि धिरसँग नेपालकी अभिलाषा बिष्ट ६–३, ५–७ र ६–२ को सेटमा हार्न पुगिन् ।

त्यस्तै, अर्को खेलमा भारतकी मिल्ली चुगसँग नेपालकी आइशा डोल्कर गुरुङ टाइब्रेकमा ६–० र ७–६ ले पराजित बनिन् । यस्तै, नेपालकी प्रकृति श्रेष्ठको चुनौतिलाई ६–४ र ६–३ ले जापानकी आओका नागासावाले पन्छाइन् ।

प्रतियोगिता अन्तर्गत पुरुषतर्फको डबल्स इभेन्टमा भने नेपालका खेलाडीहरुले सुधारिएको प्रदर्शन गरेका छन् । डबल्सतर्फ नेपालका सम्यक बज्राचार्य र आर्यन गिरीको जोडीले जर्मनीका पउल आर्मिन बलब्रेच्ट र सर्भियाका मार्को जेब्रेमोभिकको जोडीको चुनौतिलाई सुपर टाईमा २–६, ६–२ र १५–१३ ले पन्छाउन सफल भएका छन् ।

त्यसैगरि, महिलातर्फको डबल्स इभेन्टमा पनि नेपालका ईशाश्री शाह र सर्वानी श्रेष्ठको जोडीले हङकङकी नाओमी हागी र भारतकी खुशली मोदीको जोडीलाई टाइब्रेकमा ७–६ र ६–४ ले हराउन सफल भएका छन् ।

त्यस्तै, पुरुषतर्फकै अन्य खेलमा फ्रान्सका लुकास फान्थलाले भारतका दक्ष प्रसादलाई ६–३ र ६–० को सेटमा हरायो । मलेसियाका हायदन खु मेननले भारतका युभान नन्दललाई ४–६, ६–२ र ६–१ हराए ।

भारतका अमन दाहियाले जापानका योशिनोबु नाकासुजीलाई ६–३ र ६–४ ले हराए । पुरुषतर्फकै एकलमा हङकङका म्याक्स शुन वाङ क्वोकबाट भारतका वायत ओब्रेन ७–५ र ६–४ ले हार्न पुगे । भारतका टोरुस रावतले अमेरिकाका देवहर्षित नीलमलाई ६–३ र ६–४ ले हराए ।

महिलातर्फको अन्य एकल खेलमा जापानकी कीदा हाकानोले भारतकी हेत्भी चौधरीको चुनौतिलाई ६–३, ०–६ र ६–३ ले पाखा लगाइन् । चीनकी शुआङ लियाङले भारतकी इशिता दाहुत्तालाई ६–१ र ६–१ को सेटमा पराजित गरिन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार भएको पुरुष डबल्सतर्फको खेलमा जापानका सातोरु नाकाजिमा र सोगो सानादाको जोडीले भारतका दक्ष प्रसाद र प्राञ्जल तिवारीको जोडीलाई टाइब्रेकमा ७–६ र ६–० ले हराएका छन् ।

मंगलबार नै भएको महिला डबल्सतर्फको खेलमा जापानका कायदे हातानो र रेना तनाकाको जोडीले भारतका गार्गी पावर र रुदया शाहको जोडीलाई ६–१ र ६–३ ले पन्छाएका छन् ।

तस्बीर : सुदर्शन रञ्जित