म्याराथनमा सहभागी बन्न मञ्जु गुरुङ पोखरा आई पुगिन्

गत वर्ष समेत क्यान्सरविरुद्धको च्यारिटी दौडमा सहभागी रहेकी मञ्जु यस वर्ष पनि आफ्नो १० किलोमिटर दौडलाई निरन्तरता दिने समेत बताइन्

जनसम्मत
फागुन २, २०७६, शुक्रबार

पोखरा । नेपाल भ्रमण वर्ष २०२० सँगै १४ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल बनाउन विदेशबाट समेत पोखरा आउने क्रम जारी छ ।

फागुनको ३ गते शनिबार हुने सफल पोखरा म्याराथनलाई विदेशमा रहेर पनि उच्च प्राथमिकता दिंदै बेलायतबाट पोखरेली मञ्च यू.केका अध्यक्ष मानप्रसाद गुरुङलगायत अन्य सदस्य र शुभेच्छुकहरु यतिबेला पोखरा आइपुगेका हुन् । पोखरेली मञ्च यु.के. म्याराथनको आयोजक भुतपूर्व खेलाडी मञ्च नेपालको अन्तर्राष्ट्रिय सहयोगी संस्था समेत हो ।

पोखरा म्याराथनलाई गति दिन पोखरेली मञ्च युकेले ठूलो भुमिका समेत निर्वाह गरि रहेकै बेला उक्त संस्थाको तर्फबाट म्याराथनलाई सफल बनाउन जिम्मेवारी पाएकी मञ्जु गुरुङ बुधबार पोखरा आइपुगकेकी छन् ।

भलिबलकी पूर्व राष्ट्रिय खेलाडी र प्रशिक्षक समेत रहेकीमञ्जु क्यान्सर जस्तो रोगलाई जित्दै खेलकुद र सामाजिक अभियानमा सक्रिय छिन् । गत वर्ष समेत क्यान्सरविरुद्धको च्यारिटी दौडमा सहभागी रहेकी मञ्जु यस वर्ष पनि आफ्नो १० किलोमिटर दौडलाई निरन्तरता दिने समेत बताइन् ।

पोखरा आइपुगकेकी मञ्जुले पोखरा म्याराथनमा सहभागिता जनाउन पाउनु आफ्नो लागि गौरवको विषय भएको बताइन् । उनले भनिन, ‘मलाई बेलायतबाट पोखरा म्याराथनले बोलायो ।’

पोखरा आइपुगेकी मञ्जुलाई भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङ, मञ्चका महासचिब खेम गुरुङ, कोषाध्यक्ष मञ्जुलमान श्रेष्ठ, सहारा युकेका महासचिव धनु थकाली, कार्यसमिति सदस्य बाचस्पति रेग्मीलगायतले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।