पोखरा म्याराथनलाई योगेश गुरुङबाट सहयोग रकम प्रदान

संकलित रकम म्याराथनका लागि भन्दापनि युवा खेलाडीहरुलाई प्रोत्साहनका गर्न  अक्षय कोषमार्फत खर्च गर्नेगरी संचालन हुनेछ

जनसम्मत
फागुन २, २०७६, शुक्रबार

पोखरा । सहारा युकेका सदस्य योगेश गुरुङले पोखरा म्याराथनलाई सहयोग स्वरुप ६ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

बेलायतमा संकलित उक्त रकमलाई योगेशले भूतपूर्व खेलाडी मञ्च, पोखराका अध्यक्ष तेज गुरुङलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् । संकलित रकम म्याराथनका लागि भन्दापनि युवा खेलाडीहरुलाई प्रोत्साहनका गर्न  अक्षय कोषमार्फत खर्च गर्नेगरी संचालन हुनेछ ।

पोखरामा फागुनको ३ गते हुने १४ औं सस्करणको सफल पोखरा म्याराथनका लागि बेलायतस्थित सहारा युके, साउथ इस्ट रिजनल तमुधं युके, डायमन्ड बुद्धिस्ट सेन्टर युके, भुम्दीकोट समाज युके, इन्टेक १९८२ युके र भिजिट २०१९ कैलास पर्वतबाट उक्त रकमहरु संकलन भएको योगेशले बताए ।

योगेश सहारा युकेका कार्य समिति सदस्य, साउथ इस्ट रिजनल तमुधिं युकेका उपाध्यक्ष, डायमण्ड बुद्धिस्ट सेन्टर युकेका महासचिव, भुम्दीकोट समाज युकेका सचिव, इन्टेक १०८२ युके समाजका र भिजिट कैलास पर्वत–२०१९ का सदस्य छन् ।

कार्यक्रममा बोल्दै गुरुङले यस संस्करणको म्याराथनमा आफूले पनि सहारा युकेको तर्फबाट १० कि.मी.को दौडमा सहभागी हुने प्रतिबद्धता जनाए । उनले यस पटकको दौडमा आफू ‘दौड स्वास्थ्यका लागि, दौड शान्तिका लागि’ भन्ने भावनासहित दौडने बताए ।

‘गत वर्षको म्याराथनपछि आफूले म्याराथनका लागि केही गरौं भन्ने सोंच पलाएको थियो,’ उनले भने, ‘यस पटक त्यो सोंचले साकार रुप लिदैंछ । आफू जन्मेको धर्ती र माटोलाई आफूले सकेको सहयोग गर्न पाएकोमा गौरव लागेको छ । जुन माटो र धर्तीले मलाई धेरै कुरा दियो ।’

म्याराथन आयोजक संस्था मञ्चका अध्यक्ष तेज गुरुङले सामाजिक अभियन्ता योगशले प्रशंसनीय कार्य गरेको बताए । उनले खेलसँगै समाजमा शान्ति अपरिहार्य रहेकोले शान्तिको अभियानमा युवाहरुले प्रमुख निर्वाह गर्न सक्ने बताए ।

अध्यक्ष गुरुङले भने, ‘युवाहरुलाई खेलमार्फत शान्तिको मार्गमा अग्रसर गराउन भुमिका खेल्ने बताए । कार्यक्रममा सहारा युकेका प्रमुख सल्लाहाकार महेश गुरुङ, महासचिब धनु थकाली, समाजसेवी मैना गुरुङलगायतको सहभागिता थियो ।

तस्बीरः सुदर्शन रञ्जित