दुर्गाराज र सुनमायालाई गुरिल्ला म्याराथन उपाधि

निर्धारित ४८ कि.मी.को दूरीलाई दुर्गाराजले ४ घन्टा ५४ मिनेटमा पूरा गर्दै म्याराथन जितेका हुन्

जनसम्मत
फागुन ४, २०७६, आइतबार

पोखरा । रुकुम पश्चिमका दुर्गाराज बुढा र जुम्लाकी सुनमाया बुढाले तेस्रो मौराखारा गुरिल्ला म्याराथन जितेका छन् ।

म्याराथनका ५३ जना प्रतिस्पर्धीलाई पछि पार्दै दुर्गाराजले म्याराथन जितेका हुन् ।

निर्धारित ४८ कि.मी.को दूरीलाई दुर्गाराजले ४ घन्टा ५४ मिनेटमा पूरा गर्दै म्याराथन जितेका हुन् । दुर्गाराजले उपाधिसँगै ७५ हजार, कप र पदक पुरस्कार हात पारे ।

त्यसैगरी निर्धारित दूरी ५ घन्टा ५ सेकेण्डमा पूरा गरेर रुकुम पश्चिम सानीभेरी गाउँपालिकाका अर्जुन बस्नेतले दोस्रो भए । अर्जुनले ५० हजार र पदक पुरसकार पाए । गोरखाका भीम गुरुङ र जाजरकोटका दीपक कार्कीले समान १०/१० हजारको सान्त्वना पुरस्कार प्राप्त गरे ।

त्यस्तै, सुनमायाले निर्धारित ३६ कि.मी.को दूरीलाई २ घन्टा ५७ मिनेटमा पूरा गर्दै महिलातर्फको गुरिल्ला म्याराथन जितिन् । सुनमायाले ५० हजार, कप र पदक पुरस्कार हात पारिन् ।

प्युठानकी हूमी बुढामगरले ३ घन्टा ९ मिनेटमा दूरी पार गर्दै दोस्रो बनिन् । महिला तर्फ दोस्रो बनेकी हूमीले ३५ हजार र पदक पुरस्कार पाइन् । सानीभेरी गाउँपालिकाकी रुपा नकालले ३ घन्टा २५ मिनेट र सानीभेरी गाउँपालिकाकै मुवा भण्डारीले ३ घन्टा ४२ मिनेटमा दौड पूरा गर्दै शान्त्वना स्वरुप समान १०/१० हजार पुरस्कार पाए ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले तत्कालीन माओवादी लडाकुहरूले सशस्त्र संघर्षका क्रममा प्रयोग गरेको बाटोमा गुरिल्ला म्याराथनको आयोजना गरेको हो । मौराखारा युवा क्लबले म्याराथनको व्यवस्थापन गरेको थियो ।

म्याराथनमा रुकुम पश्चिम र पूर्वसहित जाजरकोट, प्युठान, दाङ, बागलुङ, गोरखा, सिन्धुपाल्चोक र सिन्धुलीका पुरुषतर्फ ५४ जना धावक र महिलातर्फ ३७ धाविकाहरूले प्रतिस्पर्धा गरेका थिए ।